गाउँगाउँमा सिंहदरबारको उपस्थिति होइन, सेवा पुग्नु महत्त्वपूर्ण हो : अध्यक्ष प्रचण्ड

बर्दिया, वैशाख १५ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अनुभूति गर्न सक्ने सेवा नै साँचो सिंहदरबारको उपस्थितिको प्रमाण भएको बताउनुभएको छ।

बर्दियाको राजापुर नगरपालिका–६ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले संविधान निर्माणको उद्देश्य नै जनतालाई गाउँमै सेवा पुर्‍याउने थियो भनेर स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँमा सिंहदरबार पुगेको कुरा होइन, जनताले सेवा पाए त त्यसको अर्थ सिंहदरबार नै गाउँमा आएको हो।”

संघीय संरचना अनुसार अब जनताको घरदैलोमै सेवा पुग्ने अवस्था आएकोमा सन्तोष व्यक्त गर्दै उहाँले स्थानीय तहका प्रशासनिक भवनहरू सेवा दिनकै लागि निर्माण भइरहेका उल्लेख गर्नुभयो। तर, ती संरचनाबाट जनताले कति सेवा पाउँछन् भन्ने प्रश्न अझै पनि मूल विषय रहेको उहाँको भनाइ थियो।

पूर्वप्रधानमन्त्री प्रचण्ड हाल नेकपा माओवादी केन्द्रद्वारा सञ्चालन गरिएको हुलाकी सडक केन्द्रित तराई–मधेश जागरण अभियानका क्रममा बर्दिया पुगेका हुन्। उक्त अवसरमा उनले वडा कार्यालय, कभर्डहल, खुला व्यायामशालाको उद्घाटन गर्नुका साथै शहीद तथा बेपत्ता परिवारसँग भेटघाट र जागरण सभा पनि सम्बोधन गर्नुभएको छ ।

उहाँले अबको आवश्यकता विकास, रोजगारी र प्रभावकारी सेवा प्रवाह रहेको भन्दै सरकारका सबै तह जनताको अपेक्षाअनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर