दाङमा भूमे पर्वको उल्लास : संस्कृति, एकता र भूमिप्रतिको श्रद्धाको उत्सव

दाङ असार ३ — घोराहीको सेवार खोलाको किनारमा रहेको खुला चौर यतिबेला पर्वको रंगले सजिएको छ । असारको सुरुवातसँगै मगर समुदायले मनाउने भूमे पर्वले यहाँको वातावरणलाई झनै जीवन्त बनाएको छ । जातीय पहिरनमा सजिएका महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिकहरू मादल, ढोलक र ढ्याङ्ग्रोको तालमा रमाउँदै, नाच्दै-गाउँदै पर्वको आनन्द लिइरहेका छन् ।

असार १ गतेदेखि सुरु भएको भूमे पर्व केवल नाचगानको रमाइलो मात्र होइन, यो मगर समुदायको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाको अभिव्यक्ति हो । घोराही उपमहानगरपालिका–१४ की स्थानीय बासिन्दा जुनु मगरका अनुसार यो पर्व मगरहरूको सामाजिक एकता, परम्परा र भूमिप्रतिको श्रद्धाको प्रतीक हो । “हाम्रो भाषा, संस्कृति र चाडपर्वले हामीलाई हाम्रो पहिचान सम्झाउँछ,” उहाँले बताउनुभयो ।

मगर समुदायका लागि भूमे पर्व मुख्य चाडको रूपमा स्थापित छ । असार १ देखि ५ गतेसम्म मनाइने यो पर्वमा उनीहरूले भूमिलाई देवताका रूपमा पूजा गर्दछन् । भूमिलाई जीवनको आधार मानी, पृथ्वीलाई साक्षात् भगवानको रूपमा मान्ने परम्पराले यस पर्वलाई अझ अर्थपूर्ण बनाएको छ । नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाका अनुसार, यो पर्व प्राकृतिक प्रकोप नहोस् र मानव कल्याण होस् भन्ने कामना गर्दै मनाइन्छ ।

यस पर्वको अर्को पक्ष पनि गहन छ — यो नयाँ कार्यको शुभारम्भ, सामूहिक योजनाको सुरुवात र सामाजिक सुदृढीकरणको अवसर हो । तकसेरा समाजका अध्यक्ष मित्रलाल बुढा मगरले भूमे पर्वलाई दाङमा महोत्सवका रूपमा आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार पर्वको माध्यमबाट मगर समुदायको सांस्कृतिक जीवनशैली र भविष्यप्रतिको दृष्टिकोण उजागर हुन्छ ।

दाङमा विशेष गरी रुकुम, रोल्पाबाट स्थानान्तरण भएर आएका मगरहरूको बाक्लो बसोबास छ । त्यसैले यहाँ भूमे पर्वको विशेष महत्व छ । विगतमा स्थानीय सीमामा सीमित रहेको यो पर्व अहिले राष्ट्रिय पहिचानतर्फ उन्मुख भएको छ । यसले मगर समुदायको संस्कृति मात्र होइन, सामाजिक सद्भाव र सहकार्यको उदाहरण पनि प्रस्तुत गर्न थालेको छ ।

पाँच दिनसम्म चल्ने भूमे महोत्सवले नाचगान, पूजाआजा र समुदायको भेला मार्फत मगर जातिको पहिचानलाई उजागर गर्नुका साथै युवा पुस्तालाई आफ्नो मौलिक संस्कृतिप्रति गर्व गर्ने अवसर पनि प्रदान गरिरहेको छ । भूमे पर्व साँच्चिकै भूमि र जीवनबीचको सम्बन्धलाई सम्मान गर्ने, सांस्कृतिक चेतना र सामूहिक भावनालाई बलियो बनाउने एउटा अद्वितीय उत्सव हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर