बाँकेमा छोरोद्धारा बाबुको बीभत्स हत्या, छोरा कोहलपुरवाट नियन्त्रणमा

कोहलपुर,असार २२- बाँकेको बैजनाथमा एक वृद्धको हत्या भएको प्रहरीले जनाएको छ । बैजनाथ गाउँपालिका–२ मकैवारि निवासी ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको शनिबार राति हत्या भएको प्रहरीले पुष्टि गरेको हो ।
स्रोतका अनुसार शनिबार बेलुका करिब ८ बजेको समयमा उनको आफ्नै कान्छा छोरा ३२ वर्षीय भविलाल रोका ९ह्याकर० ले धारिलो हतियार प्रयोग गरी ज्यान लिएको वताईएको छ ।
घटनाको समयमा घरमा परिवारका अन्य सदस्यहरु नभएको र सोही अवसर छोपी भविलालले बुवाको हत्या गरेको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाई रहेको छ । घटना अनुसन्धानकै क्रममा रहेको भएपनि हत्या किन र कसरी भयो भन्ने कारण भने अहिलेसम्म खुल्न सकेको छैन । यद्यपि रोकायका छिमेकीहरुका अनुसार भविलाल नसडि तथा सन्काहा रहेकाले घटना भएको हुन सक्ने आशंका गरेका छन ।
उक्त घटनाबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरीको तालिम प्राप्त कुकुरको सहायताले फरार भबिलालको खोजी गरिरहेको अवस्थामा कोहलपुर नगरपालिका वडा नं। ३ र ४ को सिमाना नजिकवाट निजलाई गतराति नै पक्राउ गरिएको वताईएको छ । यद्यपि पक्राउवारे पुष्टि भने भएको छैन ।