रामप्रसाद कडेलद्वारा एनआरएनए स्कटल्याण्डको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

एडिनबरा, स्कटल्याण्ड — लामो समयदेखि गैरआवासीय नेपाली समुदायमा सक्रिय रहँदै आएका रामप्रसाद कडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) राज्य समन्वय परिषद् स्कटल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। वर्तमानमा एनआरएनए स्कटल्याण्डका सचिव र पशुपतिनाथ मन्दिर स्कटल्याण्डका सचिवको रूपमा सेवा गरिरहेका कडेलले समाजप्रति निस्वार्थ योगदान दिने आफ्नो प्रतिबद्धतालाई अध्यक्ष पदमार्फत अझ प्रभावकारी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनी लामो समयदेखि विभिन्न संघ-संस्थामा आवद्ध रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

२०१९–२०२१ कार्यकालको पहिलो निर्वाचित समिति सदस्यको रूपमा उनले एनआरएनएको आन्तरिक संरचनागत सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए। विशेषतः निर्वाचन शुल्क स्थानीय खातामै रहने व्यवस्थाको विधिवत् रूपमै स्थायीत्व दिन अध्यक्ष छबिलाल अर्याल, कानुनविद् विदुर खत्री, अध्यक्ष दिवाकर पाण्डे र स्वयं कडेलको विशेष भूमिका रहेको सल्लाहकार मोती खरेलले जानकारी दिएका छन्। अनुभव र नेतृत्व क्षमताः कडेलले विगतका विभिन्न कार्यसमितिमा समावेश भई आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका छन्।

हाल (२०२३–२०२५) को कार्यकालमा सचिवको भूमिकामा रहँदै उनले एनआरएनए स्कटल्याण्डको पहिचानलाई अन्तर्राष्ट्रिय रूपमा सुदृढ बनाउने प्रयास गरेका छन्। २०२४ मा एनआरएनएका अन्तर्राष्ट्रिय अध्यक्ष डा. बद्री केसीको उपस्थितिमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा कडेलले तयार पारेको कार्यपत्रलाई “एनआरएनएको सुधारको मार्गचित्र” का रूपमा अध्यक्ष केसीले स्वीकारेका थिए। सांस्कृतिक प्रवर्द्धनमा नेतृत्व: कडेलको सचिवीय कार्यकालमा पहिलो पटक स्कटल्याण्डमा नेपाली मेलाको आयोजना गरिएको थियो, जसले मिनी नेपालको अनुभूति दिलायो।

नेपाली दूतावास लन्डनको समन्वयमा आयोजित सो मेलामा झन्डै ३,००० सहभागी थिए। प्रिन्सेस गार्डेन (Princes Gardens, Edinburgh) मा आयोजित सो कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परा, हस्तकला, मौलिक खाना र पञ्चे बाजासहितका झाँकी प्रदर्शन गरिएका थिए। कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे तथा स्कटल्याण्ड सरकारकी क्याबिनेट सचिव सिर्ले एन्नी समरभिल प्रमुख अतिथि थिए। उनीहरूले विदेशी भूमिमा नेपाली सांस्कृतिक पहिचानको प्रवर्द्धन हुनु गौरवको विषय भएको बताएका थिए।

भविष्य योजना: कडेलले आफ्नो उम्मेदवारी घोषणा गर्दै आगामी कार्यकालमा एनआरएनए स्कटल्याण्डलाई नीतिगत बहसमा अग्रपंक्तिमा उभ्याउने, कूटनीतिक पहुँचलाई सरल बनाउने तथा स्कटल्याण्डमा नेपाली नियोग स्थापनाको प्रक्रिया निष्कर्षमा पुर्याउने लक्ष्य प्रस्तुत गरेका छन्। “सुधार, समावेशिता र संस्थागत पारदर्शितामै हाम्रो अभियान केन्द्रित हुनेछ,” उनले बताए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर