बाँकेमा २९ अर्बभन्दा बढी राजस्व सङ्कलन, तीन अर्बको वृद्धि

कोहलपुर साउन १५ – बाँके जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा सङ्घ र प्रदेश सरकारका विभिन्न कार्यालयहरूबाट २९ अर्बभन्दा बढी राजस्व सङ्कलन गरिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहनशरण भण्डारीका अनुसार गत आवमा कुल २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपैयाँ राजस्व सङ्कलन भएको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । यसअनुसार, तीन अर्ब ६ करोड एक लाख ९४ हजार ३७२ रुपैयाँ राजस्व वृद्धि भएको छ ।
जिल्लाभित्र सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने कार्यालय नेपालगन्ज भन्सार कार्यालय हो। उक्त कार्यालयले मात्रै २० अर्ब २८ करोड ७२ लाख रुपैयाँ राजस्व उठाएको छ, जसमा डिजेल आयातबाट मात्र छ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको जनाइएको छ ।
गत वर्ष नेपालगन्ज भन्सारले १८ अर्ब १५ करोड ७२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो, जसअनुसार यस वर्ष २ अर्बभन्दा बढीको वृद्धि देखिएको छ । त्यसैगरी, दोस्रो धेरै राजस्व सङ्कलन गर्ने कार्यालय आन्तरिक राजस्व कार्यालय हो। यसले गत वर्ष ८ अर्ब २९ करोड ८६ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको ७ अर्ब ६९ करोड ६२ लाख रुपैयाँ भन्दा ७४ करोड रुपैयाँले बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार दुबै मुख्य राजस्व सङ्कलन गर्ने कार्यालयहरूको प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छ।