सीप सिकेर आत्मनिर्भरतातर्फ अपाङ्गता भएका व्यक्तिहरूको पाइला

कोहलपुर जेठ २५ – “सीप सिकौं, स्वरोजगार बनौं” भन्ने उद्देश्यले कोहलपुरमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूका लागि १५ दिने बेकरी तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउँदै उत्पादनमुखी तथा व्यवहारिक सीप प्रदान गर्ने उद्देश्यसहित संचालन गरिएको यो तालिम, कोहलपुर नगरपालिकाको अगुवाइ र स्थानीय अपाङ्गता समन्वय समितिको समन्वयमा सम्पन्न भएको हो ।
तालिममा सहभागी भएका व्यक्तिहरूलाई केक, ब्रेड, बिस्कुट लगायतका बेकरी परिकार बनाउने सीप दिइएको थियो ।
कोहलपुर नगरपालिकाको सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विकले तालिममा सहभागीहरुलाई उत्साहित गर्दै “हाम्रै समाजमा अझै पनि अपाङ्गता भएका व्यक्तिहरूप्रति फरक दृष्टिकोण रहेको यथार्थ हो । त्यस सोचाइलाई परिवर्तन गर्न यस्ता सीप विकासमूलक कार्यक्रमहरू आवश्यक रहेको बताए । उनले थपे, “सहभागीहरूलाई दक्ष जनशक्ति बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको बताउँदै आवश्यकता अनुसार उनीहरूलाई रोजगारीमा समेट्न नगरपालिका प्रतिबद्ध छ ।
नगरपालिकाको महिला, बालबालिका तथा समावेशी शाखाकी प्रमुख घटना शाहले अपाङ्गता भएका व्यक्तिहरूलाई सधैं प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै “समान अवसर र सहभागिताको सुनिश्चितता नै समावेशी समाज निर्माणको आधार हो” ।
स्थानीय अपाङ्गता समन्वय समिति कोहलपुरका सदस्य तथा बाल शिक्षा मावि, भरैयाका प्रधानाध्यापक टर्क ब. खत्रीले सहभागीहरूको सक्रियता र प्रतिभा देखेर खुसी लागेको बताए । उनले भने, “सीपलाई उत्पादनसँग जोड्ने व्यवहारिक सोच सहभागीहरूमा देखिएको छ, जुन भविष्यमा स्वरोजगारतर्फ डोर्याउने बलियो आधार बन्न सक्छ ।
तालिमका प्रशिक्षक बासुदेव ढकालले तालिम अत्यन्तै प्रभावकारी भएको प्रतिक्रिया दिए । उनले भने “सहभागीहरूलाई सहज ढंगले सिकाउन सकियो, उनीहरूको उत्साह र जिज्ञासा प्रेरणादायी थियो,” ।
तालिममा सहभागी विनिता डिसीले आफ्ना अनुभव सुनाउँदै्, “सिक्ने इच्छा त धेरै थियो, समय अलि कम भयो । तर पनि १५ दिनमा हामीले धेरै कुराहरू सिक्यौं – केक, ब्रेडजस्ता परिकार बनाउने सीप अब जीवनमै काम लाग्नेछन्” । उनले तालिम अत्यन्तै उपयोगी र प्रेरणादायी भएको बताइन् ।
कार्यक्रमले अपाङ्गता भएका नागरिकहरूको आत्मबल वृद्धि गर्नुका साथै उनीहरूलाई उत्पादनशील काममा संलग्न गराउने दिशामा एक सकारात्मक सन्देश दिएको छ । भविष्यमा यस्ता तालिमहरूको निरन्तरता र व्यावसायिक विस्तारले स्वरोजगारको सम्भावना अझै बलियो बनाउने आशा गर्न सकिन्छ ।