जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर जेठ २५- सभ्य र सुसंकृत समाजको निर्माण गरौ, जातीय छुवाछुत तथा भेदभाव सबै मिलि हटाउ भन्ने मूल नाराका साथ कोहलपुरमा जातीय छुवाछुत तथा भेदभाव विरुद्धको अभिमुखिकरण कार्यक्रम आज सफलता पुर्वक सम्पन्न भएको छ । जातीय छुवाछुत तथा सामाजिक भेदभावका विरुद्ध सचेतना अभिवृद्धि गर्नु, संविधान र कानुनले दिएको अधिकारको जानकारी दिनु, र व्यवहारिक रूपमै समावेशी समाज निर्माणतर्फ नागरिकलाई उत्प्रेरित गर्नु कार्यक्रमको मुख्य उदेश्य रहेको थियो । ।
कार्यक्रमका अध्यक्ष तथा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माले “समानता, न्याय र समावेशीतामा आधारित समाजको परिकल्पना नारा होइन, व्यवहारमा रूपान्तरणको अभियान भएको बताए । छुवाछुतमुक्त समाज निर्माण हाम्रो साझा जिम्मेवारी हो उनले भने, जातीय छुवाछुत विरुद्धको अभियानमा कोहलपुर नगरपालिकाले अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा संविधानको धारा २४ अन्तर्गत छुवाछुत तथा भेदभावलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरिएको कानुनी व्यवस्था, ती व्यवस्था कार्यान्वयनका चुनौतीहरू, र सामाजिक रूपान्तरणका उपायहरूबारे विस्तृत जानकारी दिइयो । उपस्थित वक्ताहरूले जातीय भेदभाव अझै पनि समाजमा गहिरो रूपमा जरा गाडिरहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले व्यवहारमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
सहभागीहरूले आफ्नो धारणा राख्दै यस्ता अभिमुखिकरण कार्यक्रमहरूले ज्ञान मात्र होइन, चेतना र उत्तरदायित्व पनि दिने भएकाले नियमित रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्षहरू, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, शिक्षक, पत्रकार, महिला तथा दलित अधिकारकर्मीहरू, युवाहरू र स्थानीयबासीहरूको सक्रिय सहभागिता रहेको थियो ।