झरेका पातहरूबाट फुल्दै गएको जीवन


शिवानी विक कोहलपुर असाढ २– बिहानको सुनसान क्षणलाई चिर्छ टप–टप आवाज—यो कुनै सामान्य आवाज होइन, यो हो आत्मनिर्भरता बुनेको आवाज। साल, टुनी र बरका पातहरूलाई जीवनको आकार दिने महिलाहरूका हातहरूबाट आउने यो संगीत अहिले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरको पहिचान बनेको छ ।
“दुना–टपरी महिला समूह” भनेर चिनिने १५ जना महिलाहरूको यो यात्रा कुनै पनि हिसाबले सजिलो थिएन । उनीहरूमध्ये धेरैजसो गृहिणी, सामाजिक रूपले दबिएका, अवसरबाट टाढा राखिएका थिए । लाज, डर, अनि घरको सीमितताले गर्दा उनीहरूका पाइला कहिल्यै आँगन नाघ्न सकेका थिएनन् ।
तर, परिवर्तनको एउटा सानो अवसर आयो । तराई भू–परिधि कार्यक्रममार्फत “दुना–टपरी निर्माण सम्बन्धि निःशुल्क तालिम, स्रोत सामग्री उपलब्ध, र सीप सिक्ने अवसर । तालिममा ४ लाख रुपैयाँको लगानी उक्त कार्यक्रमबाट गरियो भने अर्नाफाँटा सामुदायिक वन उपभोक्ता समूहले थप २ लाखको सहयोग ग¥यो । कुल ६ लाखको लागतमा यो तालिम सुरु भयो ।
शुरुमा ५–६ महिलाले मात्र हिम्मत गरे । तर त्यो हिम्मत लहर बन्यो । दोस्रो दिनसम्ममा सहभागी संख्या १५ पुग्यो । तालिममा उनीहरूले पात मात्र सिउन होइन, नयाँ आत्मबल, आत्मसम्मान र सामूहिकताको भावना पनि सिए ।
उनीहरूका लागि पहिले झरेका पातहरू फोहोर जस्तै लाग्थे । तर तालिमपछि, ती नै पातहरू अवसरका पत्र भए । अब उनीहरूलाई थाहा भयो—हातको सीपले पनि घर चलाउन सकिन्छ, आत्मनिर्भर बन्न सकिन्छ, सम्मान कमाउन सकिन्छ ।
तालिमपछि उनीहरूले समूह बनाए । काम बाँडे—कोही पात टिप्न जंगल जान्थे, कोही पात सफा गर्थे, कोही सिलाउँथे, र कोही बजार खोज्थे ।
“शुरुमा त हात नै मिल्दैनथ्यो पातसँग,” ममता पुन खत्री, समूहकी उपाध्यक्ष सम्झिन्छिन्, “सालको पात कसरी सम्याउने, टपरी कसरी दिने—सबै कुरा नयाँ थियो । हामी त घरभित्रका भाँडा माझ्न मात्रै जान्दथ्यौं ।
तर आज? उनीहरू दैनिक सयौं टपरी र दुना बनाउँछन् । माग मात्र गाउँमा सीमित छैन—दाङ, धनगढीजस्ता ठूला शहरहरूबाट अर्डर आउँछ । उनीहरूद्वारा बनाइएका उत्पादन अब होटल, विवाह भोज, धार्मिक कार्यक्रममा प्रयोग भइरहेका छन् ।
पहिले यो समूहका सदस्यहरू सार्वजनिक रूपमा बोल्न पनि डराउँथे । तर अब उनीहरू मेलामा स्टल राख्छन्, ग्राहकसँग व्यवहार गर्छन्, अर्डर लिन्छन्, अनि मोबाइलमै डिजिटल भुक्तानी पनि गर्छन् । उनीहरू भन्छन्, “पहिला लाज लाग्थ्यो, अब गर्व लाग्छ । हामीसँग सीप छ, हामीसँग उत्पादन छ, अनि अब आम्दानी पनि छ ।
यो समूह अब यहीँ रोकिने पक्षमा छैन । उनीहरूले स्थानीय विद्यालय, होटल, तथा संघसंस्थासँग सहकार्य गरेर नियमित आपूर्ति व्यवस्था बनाउने सोच बनाएका छन् । साथै, अन्य महिलालाई पनि तालिम दिने, सीप बाँड्ने, अझ ठूलो स्तरमा उत्पादन गर्ने योजना छ ।
‘दुना–टपरी महिला समूह’को कथा एउटा सानो गाउँबाट सुरु भएको हो—तर यो कथा देशभरिका महिलाहरूका लागि एउटा प्रेरणा बनेको छ । झरेका पातहरू उनीहरूका लागि अब फाल्ने चीज होइन, जीवन बदल्ने अवसर हुन् ।
आज, टप–टप टपरी बुन्ने आवाज उनीहरूको मुटुको धडकनजस्तै गुञ्जिन्छ । त्यो आवाज संघर्षको, साहसको, सीपको, अनि एउटा नयाँ पहिचानको आवाज हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर