बर्दियाको भुरीगाउँ खानेपानी उपभोक्ता संस्थामा झन्डै ५० लाख रुपैयाँ हिनामिना भएको दाबी

बर्दिया चैत ८, – ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ बजारको भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा झन्डै ५० लाख रुपैयाँ हिनामिना भएको दाबीसहित छानविन गर्न माग गरिएको छ । संस्थाको आर्थिक पारदर्शिताबारे स्थानीयबासिन्दा जीवन शाहीको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिती गठन भएको र समितिले ४९ लाख ५७ हजार सात सय ५९ रुपैँया हिनामिना भएको जनाएको छ ।
संयोजक शाही, सदस्यहरु गोविन्दप्रसाद आचार्य, अर्जुन भण्डारी, पन्चराम थारु र गणेश कुँवरसहितको छानविन समितीले २०७७ सालदेखि अहिलेसम्म झन्डै ५० लाख रुपैयाँ दाखिला नगरी हिनामिना गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । रकम हिनामिनाको गुनासोपछि संस्थाका अध्यक्ष वेदप्रसाद भण्डारीसहितको कार्यसमितिले छानविन समिति गठन गरेको थियो ।
खानेपानी संस्थामा कार्यरत कर्मचारी रामबहादुर थारुले आफुले आम्दानी र खर्च रेकर्ड नराखेको हुँदा हिसाब नमिलेको दाबी गर्नुहुन्छ । रकम हिनामिनाको सम्बन्धमा तत्काल लेखा परिक्षण गरि छानविन गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाले सम्पुर्ण कागजात लिएर अनुसन्धान प्रकृया अघि बढाउने जनाएको छ । पर्सि आइतवारदेखि छानबिन तथा अनुसन्धान प्रकृया अघि बढाउने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले बताउनुभयो ।