सगरमाथा संवादको तयारी तीव्र, तीन सयभन्दा बढी विदेशी पाहुनालाई निमन्त्रणा

काठमाण्डौ, वैशाख १६ –सरकारद्वारा आयोजना गरिने अन्तर्राष्ट्रिय ‘सगरमाथा संवाद’ सम्मेलनको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। आउँदो जेठ २ देखि ४ गतेसम्म (मे १६–१८) काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनका लागि तीन सयभन्दा बढी विदेशी विशिष्ट व्यक्तित्वलाई औपचारिक निमन्त्रणा पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्याय’ भन्ने मूल विषयमा केन्द्रित रहने सगरमाथा संवादले जलवायु परिवर्तन, हिमाली पारिस्थितिकी प्रणाली र मानव भविष्यका विविध पक्षमा गहन बहस गर्ने उद्देश्य लिएको छ। विश्वका शीर्ष नेता, नीति निर्माता, वातावरणविद् तथा जलवायु विज्ञहरू सहभागी हुने यो सम्मेलन नेपालका लागि अन्तर्राष्ट्रिय ध्यान आकर्षित गर्ने ठूलो अवसरका रूपमा लिइएको छ।

परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर क्षेत्रीका अनुसार संवादमा जलवायु परिवर्तनका प्रत्यक्ष पीडितहरूको समेत सहभागिता गराउने तयारी भइरहेको छ। उनका अनुसार सम्मेलनमा जम्मा १२ वटा सत्र रहनेछन्, जसमा जलवायु परिवर्तनले ल्याएको हानि–नोक्सानी, हिमाल संरक्षण, पर्यटन, ऊर्जा, कृषि, र मानव जीवनमा पारेको असरबारे छलफल हुनेछ।

नेपाल जस्ता पर्वतीय मुलुकहरूमा देखिएको हिउँ पग्लन, जलस्रोतमा कमी, भूक्षय, जैविक विविधताको ह्रास र स्थानीय समुदायको जीवनस्तरमा आएको गिरावटलाई ध्यानमा राख्दै सगरमाथा संवादले अन्तर्राष्ट्रिय जगतमा चेतना फैलाउने अपेक्षा लिइएको छ।

नेपाल सरकारले सगरमाथा संवादलाई जलवायु संकट समाधानका लागि विश्वव्यापी मञ्चको रूपमा स्थापना गर्ने लक्ष्य राखेको छ। यसले हिमाल, महासागर र पारिस्थितिक प्रणालीबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै सामूहिक प्रयासको खाँचो औँल्याउने छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर