रोकिएको जग्गा नापजाँचको काम पुनः सुरु

तुलसीपुर, वैशाख १६ – तुलसीपुर उपमहानगरपालिकाले भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोबासीको जग्गा नापजाँच (नाप नक्साङ्कन) को काम पुनः सुरु गरेको छ। राष्ट्रिय भूमि आयोग दाङको समन्वयमा सुरु गरिएको यो कार्य आयोग विघटनपछि केही समयका लागि रोकिएको थियो।
नापजाँचको काम वडा नम्बर ६ बाट सुरु गरिएको हो। उपमहानगरपालिकाको भूमि शाखाका अमिन रितेश बस्नेतका अनुसार, यसअघि वडा नं. ६ मा १,२६५ कित्ताको जम्मा ५ लाख ३४ हजार ९८९.८७ वर्ग मिटर क्षेत्रफलको जग्गा नापजाँच गरिएको छ। हालसम्म झण्डै ७५ प्रतिशत काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।
राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेतका अनुसार, भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई प्राथमिकता दिँदै नापजाँचको काम अगाडि बढाइएको हो। उहाँले एक महिनाभित्र नापजाँच कार्य सम्पन्न गरी दुई महिनाभित्र लालपुर्जा वितरण गरिने लक्ष्य रहेको बताउनुभयो।
यद्यपि, दाङका बबई, शान्तिनगर, राप्ती, र राजपुर गाउँपालिकाका जङ्गल क्षेत्रभित्र बसेका भूमिहीन सुकुमवासीको जग्गा नापजाँचमा भने विभिन्न समस्या देखा परेको अध्यक्ष बस्नेतले बताए।
उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले अहिलेसम्म २३ हजार ३२६ जना भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको जानकारी दिनुभयो। उहाँका अनुसार, आफू निर्वाचित भएपछिको पहिलो बैठकमै लालपुर्जा वितरणका लागि प्रक्रिया अघि बढाउने निर्णय भए पनि आयोग विघटनले कार्यान्वयनमा ढिलाइ भएको हो।
नगरप्रमुख खड्काले भूमिहीन दलितलाई पहिलो प्राथमिकतामा राखेर लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाउनुभयो। वडानं. ६ का स्थानीय क्वाङ्गी विश्वकर्माले चार दशकदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा पाउने आशा व्यक्त गर्नुभयो।