गुलरिया–नेपालगन्ज सडकमा अत्याधुनिक सिसी क्यामेरा जडान

बर्दिया वैशाख १६ – बर्दिया जिल्लामा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै गुलरिया नगरपालिकाले अत्याधुनिक प्रविधियुक्त सिसी क्यामेरा जडान गरेको छ।

गुलरिया नगरपालिका प्रवेशद्वारको रूपमा परिचित भादापुल क्षेत्र, जो गुलरिया–नेपालगन्ज मुख्य सडकअन्तर्गत पर्दछ, त्यहाँ यस्ता प्रविधियुक्त क्यामेरा जडान गरिएको हो।

सिसी क्यामेरा सवारी साधनको नम्बर प्लेट पढ्न सक्ने र उच्च गतिको सवारीको फोटो समेत खिच्न सक्ने क्षमतायुक्त छन्। गुलरिया नगरपालिकाका अनुसार, यी क्यामेराले प्रतिघण्टा १८० किलोमिटरसम्मको गतिको सवारी साधनलाई समेत ट्र्याक गर्न सक्छन्।

नगरपालिकाले करिब १० लाख रुपैयाँ बजेट विनियोजन गरी बर्दिया जिल्लामै पहिलो पटक यति उन्नत प्रविधिको सिसी क्यामेरा स्थापना गरेको हो। मंगलबार आयोजित एक कार्यक्रममार्फत क्यामेराको उद्घाटन नगरप्रमुख मुक्तिनाथ यादवले गर्नुभयो।

उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो। “अपराधका प्रविधि र शैलिहरू परिवर्तन भइरहेका छन्, त्यसैले नियन्त्रणका उपाय पनि प्रविधिमैत्री हुन आवश्यक छ,” उहाँले भन्नुभयो।

जडान गरिएका सिसी क्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गरिनेछ। प्रमुख जिल्ला प्रहरी कार्यालयका प्रमुख केदार खनालले प्रविधिको प्रयोगमार्फत दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालमा प्रत्येक वर्ष झन्डै २५ सय जनाले सडक दुर्घटनामा ज्यान गुमाउने तथ्याङ्क उल्लेख गर्दै यस्तो प्रविधिले भविष्यमा सुधार ल्याउने आशा व्यक्त गर्नुभयो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर