कागजको डिग्री हेरेर मान्छे नाप्छौं, तर यो युग सीपको होः मेयर आचार्य

कोहलपुर बैशाख ८- नेपाली समाजमा सीप आधारित पेसाको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । पछिल्लो समयमा युवाहरू विदेशिनुको सट्टा स्वदेशमै केही गर्ने सोचसहित व्यावसायिक तालिमप्रति आकर्षित हुँदैछन् । यसै सन्दर्भमा मध्य तथा सुदुर पश्चिम सुनचाँदी गहना व्यवसायी संघको आयोजनामा र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा ‘आधारभूत सुनचाँदी गहना निर्माण तालिम’ सुरु गरिएको छ ।
यो तालिमले विशेष गरी दलित, पछाडि पारिएका, तथा सीप नभएका समुदायका सदस्यहरूलाई लक्षित गर्दै उनीहरूलाई सीप सिकाई रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले “हामी भन्छौं – विकासका लागि ठूला योजनाहरू चाहिन्छ, तर म भन्छु – विकास त यहीँ तपाईँहरूका हातमा रहेको उल्लेख गर्दे “हामीले नगरपालिकाबाट गफमात्र होइन, काम देखाउने समय हो । यस्ता तालिमहरूलाई सहयोग गर्नु कार्यक्रम पूरा गर्नु होइन, त्यो हाम्रो सामाजिक उत्तरदायित्व रहेको बताए । उनले सीप र श्रमको सम्मान गर्ने संस्कार बसाल्नुपर्ने कुरा जोड दिँदै “हामी अझै पनि कागजको डिग्री हेरेर मात्र मान्छे नाप्छौं, तर यो युग सीपको हो,” सुनचाँदी गहना बनाउने हातहरूमा स्वाभिमान हुन्छ, स्वाभाविक सौन्दर्य हुन्छ, र अब हाम्रो नगरपालिकामा त्यस्ता हातहरूको मूल्य बढ्नेछ उनले बताए ।

उक्त अवसरमा बोल्दै संघका प्रदेश अध्यक्ष देवीलाल सुनारले “यो तालिम केवल गहना बनाउने सीपको विषय होइन, यो त हाम्रो पहिचानलाई पुनःस्थापित गर्ने अभियान भएको बताएका छन् । जुन पेसालाई समाजले हेप्यो, आज त्यसै पेसाबाट हजारौंले जीवन धानेका छन् ।
“सरकारले रोजगारका गफ गर्छ, हामी यहाँ सीप बाँड्दैछौं, तालिम दिँदैछौं, रोजगारी सिर्जना गर्दैछौं, नीति निर्माण तहमा पनि यस्ता पेशालाई ‘गौरवशाली पेशा’ को दर्जा दिन पर्ने संघका प्रदेश अध्यक्ष सुनारले स्थानिय सरकार संग आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा संघका सल्लाहकार बुद्ध सुनारले “सीप भनेको व्यवसायको माध्यम मात्र होइन, यो व्यक्तिगत जीवनमा सहजता ल्याउने, आत्मसम्मान जागृत गराउने र आर्थिक समृद्धितर्फ डोहो¥याउने महत्वपूर्ण आधार भएको बताए ।
संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाकी प्रवन्धक तुलसी सुनारले सीपले इज्जत र आत्मबल दिन्छ । यस्तो तालिम आत्मनिर्भर जीवनतर्फको पहिलो पाइला भएको उनको भनाई रहेको छ ।
उक्त अवसरमा बोल्दै दलित सेवा संघका कृष्ण विकले “जब हामी आफैँ आफ्नो थर, पेसा, र पहिचानप्रति गर्व गर्न थाल्छौँ, तब मात्रै त्यो पेसाले पनि गर्व गर्न लायक बनाउँछ,‘‘उनले भने पुर्खाको पेसालाई सम्मान गर्न सके मात्र भविष्य उज्यालो हुन्छ । तालिमा सक्रिय सहभागी हुन उनले प्रशिक्षार्थीहरुलाई आग्रह गरेका छन् ।
तालिममा सहभागीहरूलाई सुनचाँदी गहना निर्माणको आधारभूत ज्ञान, डिजाइनिंग, मेसिन प्रयोग गर्ने तरिका, र व्यावसायिक बजार व्यवस्थापनका बारेमा तालिम दिइने छ । उक्त तालिममा १० जनाको सहभागिता रहेको छ ।