ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड: माधव समूहको निर्णय

काठमाडौं, ११ माघ ।

नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निश्कासन गरेको छ । स्थायी कमिटीको आइतबार बसेको बैठकले ओलीलाई साधारण सदस्यबाटै हटाउने निर्णय गरेको हो । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले बुझाएका थिए । ओलीलाई तीन दिनभित्र स्पष्टिकरण पत्र बुझाउन समय दिइएको थियो । तर, ओलीले स्पष्टीकरण नबुझाएपछि उनलाई आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकै दिन पुस ५ मा बसेको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यहिअनुसार पुस ७ को केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर