कोहलपुरमा विद्युत अव्यवस्थाविरुद्ध माओवादी केन्द्रको ध्यानाकर्षण, शीघ्र समाधान नभए आन्दोलनको चेतावनी

कोहलपुर १२- नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले विद्युत समस्यालाई लिएर कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। अध्यक्ष बलबहादुर खड्का ‘अबिर’ को नेतृत्वमा बुझाइएको पत्रमा विद्युत सेवा नियमित नहुँदा नागरिकको दैनिकी प्रभावित भएको, कार्यालय तथा विद्युतीय उपकरण सञ्चालक व्यवसायहरूमा समेत बाधा पुगेको जनाइएको छ।

कोहलपुर नगरपालिका क्षेत्रभित्र विद्युत आपूर्तिमा निरन्तर समस्या देखिँदै आएको छ। नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रले केही महिना अघि सहज आपूर्ति गरिरहेको भए पनि पछिल्लो समय विद्युत सेवामा चरम अव्यवस्था देखिएको भन्दै स्थानीय नागरिक तथा विभिन्न संघ–संस्थाहरू आक्रोशित भएका छन्।

ध्यानाकर्षण पत्रमार्फत उठाइएका मुख्य समस्या :

       १. दिनमा पटक–पटक लाइन जाने समस्या:
           विद्युत सेवा दिनमा धेरैपटक झ्याप्प झ्याप्प जाने समस्या देखिएको छ, जसले कार्यालय, उद्योग, सञ्चार, स्वास्थ्य सेवा, तथा अन्य विद्युतमा आश्रित सेवामा गम्भीर                   असर पारेको छ।

तार तानिएको ठाउँमा सेवा नहुँदा असमझदारी :
केही स्थानमा पोल र तार तानिएको भए पनि हालसम्म सेवा विस्तार गरिएको छैन। यस्ता ठाउँमा तत्काल लाइन विस्तार गर्न माग गरिएको छ।

३३ केभीए प्रसारण लाइनमा नियमित समस्या :
बारम्बार सिस्टम बिग्रिने सूचना आए पनि त्यसको कारण र समाधानबारे सेवाग्राहीलाई जानकारी नदिइएको भन्दै प्राधिकरणबाट स्पष्ट जानकारी दिनुपर्ने माग गरिएको छ।

ढल्न लागेको पोलको तत्काल अनुगमन र मर्मत :
केही ठाउँमा पोलहरू ढल्न लागेको अवस्थामा छन्। यस्ता पोल ढल्दा मानवीय क्षति हुन सक्ने भन्दै तत्काल अनुगमन गरी मर्मत गर्न भनिएको छ।

मिटर रिडिङसँगै मिटर वितरण–दुरुपयोगको आशंका :
मिटर रिडिङ गर्ने कर्मचारीहरूले मिटर बक्स समेत वितरण गर्दै आएको गुनासो आएकोले दोहोरो जिम्मेवारीबाट दुरुपयोग हुनसक्ने आशंका गरिएको छ।

लोडसेडिङ भएमा पूर्व सूचना दिनुपर्ने :
लोडसेडिङ आवश्यक भएमा सेवा अवरुद्ध हुने समय, क्षेत्र र कारणबारे नागरिकलाई पूर्व सूचित गर्न माग गरिएको छ।

बिजुली आउँदा–जाँदाको कुनै रेकर्ड नरहेको आशंका :
पत्र तयार पार्ने क्रममा मात्रै ४ पटक लाइन गएको उल्लेख गर्दै कार्यालयमा फोन गर्दा ट्रान्समिटर बिग्रिएको भनेर अस्पष्ट उत्तर आएको बताइएको छ। कार्यालयसँग लाइन जानु आउनुको रेकर्ड हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उठाइएको छ।

नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रका प्रमुख इञ्जिनियर माधव महतले झ्यापझ्याप लाइन जानुलाई लोडसेडिङसँग नजोड्न आग्रह गर्दै भने, “लोडसेडिङ तब हुन्छ जब माग आपूर्ति भन्दा बढी हुन्छ। अहिले उत्पादन धेरै भएर भारतलाई समेत बेचिएको अवस्थामा लोडसेडिङ हुनुपर्ने कारण छैन। तर कहिलेकाहीँ ट्रान्सफर्मर वा फिडरमा समस्या हुँदा लाइन झ्यापझ्याप जाने गर्छ।”

यता, नगर समिति अध्यक्ष खड्काले विद्युत समस्या शीघ्र समाधान नभए कोहलपुरमा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर