नरैनापुरमा ३५० परिवारलाई लालपूर्जा वितरण, वर्षौंदेखिको पर्खाइ टुंगियो

कोहलपुर जेठ २०- बाँकेको नरैनापुर गाउँपालिका–३ मा वर्षौंदेखि बसोबास गर्दै आएका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) वितरण गरिएको छ। गाउँ ब्लकभित्रको जग्गामा खनजोत र भोगचलन गर्दै आएका तर कानुनी रूपमा भूमि स्वामित्व प्रमाणपत्र नपाएका परिवारलाई पहिलोपटक प्रमाणपत्र प्रदान गरिएको हो।
गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार पहिले नापी हुँदा छुट भएका, सुकुम्बासी वा अव्यवस्थित रूपमा बसेकालाई पनि लगत सङ्कलन गरी लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको छ। “घरबास नभएका, सुकुम्बासी र अव्यवस्थित वसोवास गर्ने परिवारलाई पनि छिट्टै पुर्जा वितरण हुनेछ,” अध्यक्ष शाहले बताए।
पहिले गाउँ ब्लकका रूपमा चिनिएको यो क्षेत्रमा नापजाँच भए तापनि कानुनी प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण हुन सकेको थिएन। नापी कार्यालय बाँकेको सहकार्यमा हाल वितरण सुरु गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीका अनुसार नापी भएर पनि पुर्जा नपाएका अन्य वडाका बासिन्दालाई पनि क्रमशः प्रमाणपत्र वितरण गरिँदै छ। सहायक प्रशासकीय अधिकृत भरत महतोले यस कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।
नापी कार्यालय बाँकेका प्रमुख नापी अधिकृत गणेश्वर यादवका अनुसार वर्षौंदेखि रोकिएको जग्गा प्रमाणिकरणको काम पुनः सुरु गरिएको हो। “आफ्नै जग्गामा बसेर पनि प्रमाणपत्र नपाई भूमिहीनजस्तो अवस्था टार्नु परेको थियो,” उनले भने, “अब नागरिकलाई त्यो समस्या हटेको छ।”
लालपूर्जा वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पालिकाका कर्मचारी, नापी कार्यालयका पदाधिकारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। यस कार्यले भूमि स्वामित्वमा पारदर्शिता ल्याउनुका साथै सामाजिक सुरक्षामा समेत सघाउ पुर्याउने अपेक्षा गरिएको छ।