२० वर्षीया थारु युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा वडा सदस्य वाग्ले पक्राउ

 कोहलपुर, जेष्ठ २१, कोहलपुर नगरपालिका वडा नं ६ का वडा सदस्य तथा नेपाली कांग्रेसका नगर सचिव गोविन्द वाग्ले २० वर्षीया थारु समुदायकी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। वाग्ले कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाका सचिवसमेत हुन्।

घटनाबारे प्राप्त विवरण अनुसार, मंगलबार साँझ करिब साढे ८ बजे वाग्ले पिउने पानीको बहानामा ती युवतीको घर पुगेका थिए। सोही क्रममा दुर्व्यवहार भएको आरोप लागेको छ। घटनाको समयमा गाउँमा भण्डारा चलिरहेको थियो, र वाग्ले पनि सो कार्यक्रममा सहभागी भएका थिए।

ईलाका प्रहरी कार्यालय कोहलपुरकी डिएसपी लक्ष्मी खनालले वाग्लेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिइन्। उनले भनिन्, “अनुसन्धानपछि मात्र घटनाको पूर्ण सत्यतथ्य बाहिर आउनेछ।” पीडित युवती थारु समुदायकी हुन् भन्ने जानकारी पनि डिएसपी खनालले दिइन्।

दुर्व्यवहारपछि युवतीले आफ्ना परिवारलाई घटनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए, जसको आधारमा प्रहरीले वाग्लेलाई नियन्त्रणमा लिएको हो।

यस घटनाबारे थप बुझ्न खोज्दा सोही गाउँकी स्थायी बासिन्दा एवं लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी थारुसँग सम्पर्क गर्न खोज्दा फोन नउठेको समाचारदाताले बताएका छन्।

यसैबीच, कांग्रेसभित्र एक थरिले वाग्लेलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन्। तर नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति नारायण गौंडेलले आफूलाई घटनाको बारेमा भर्खरै जानकारी प्राप्त भएको बताउँदै सत्य तथ्य छानबिन गर्ने बताएका छन्। उनले भने, “यदि आरोप पुष्टि भयो भने कांग्रेस सदस्य भएकै कारण कुनै छुट हुनुहुन्न। दोषी ठहरिए सजायको भागिदार हुनैपर्छ।”

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर