यातायात व्यवसायीसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गर्यो

काठमाण्डौ जेठ १९, – सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ ।
गृह मन्त्रालयमा आज बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न मन्त्रालयका प्रतिनिधि तथा यातायात व्यवसायी रहने गरी वार्ता समिति गठन गरेको हो । समितिमा सरकारका तर्फबाट विभिन्न मन्त्रालयबाट आठ जना र यातायात व्यवसायी तथा मजदूरको तर्फबाट चार जना सदस्य रहनेछन् ।
गण्डकी प्रदेश सरकारले जारी गरेको राइड शेयरिङसम्बन्धी नियमावलीकोविरोधमा सडकमा निस्किएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन भएको हो ।
यातायात व्यवसायी तथा मजदूरका आठ वटा सङ्गठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदूरसँग छलफल गरेका हुन् ।