मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सामूहिक प्रयास

कोहलपुर – सृजना सामुदायिक वन उपभोक्ता समूहको पहलमा राप्ती सोनारी–२, मदुईमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरीएको छ । डिभिजन वन कार्यालय, बाँकेको आर्थिक सहयोग, अशोक सामुदायिक वन समूहको सहकार्य र सञ्चारिका समूह, बर्दियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मेरो उडान अनलाइन सह–आयोजकको रूपमा सहभागी थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सासंद माननीय सूर्य ढकालले संरक्षण प्रयासहरू सफल बनाउन स्थानीय समुदायको सक्रिय सहभागिता अत्यावश्यक भएको बताए । उनले भने, “वन्यजन्तु जोगाउन आवश्यक छ, तर त्यसकै कारणले मानवीय क्षति हुनु दुखद हो । मानव जीवनको सुरक्षा सुनिश्चित गर्दै द्वन्द्व न्यूनीकरणका उपायहरू अवलम्बन गर्नु राज्यको दायित्व भएको बताए ।
उक्त अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ’नमुना’ ले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको चुनौती समाधान गर्न शिक्षा, सचेतना र दीर्घकालीन योजना आवश्यक भएको बताइन् । उनले भनिन्, “सामाजिक रूपान्तरण वन संरक्षणबाट सुरु हुन्छ । जनस्तरमा सहअस्तित्वको भावना विकास गर्नुपर्छ ।
डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर कुमार गुप्ताले सरकारी निकाय, स्थानीय वन समूह, सञ्चार माध्यम र सरोकारवाला सबै पक्षबीच समन्वय हुनु आवश्यक रहेको बताए । “वन्यजन्तुहरूको बासस्थानमा हस्तक्षेप हुँदा द्वन्द्व बढ्ने गर्छ उनले भने वातावरण अनुकूल नीति र संरचनात्मक उपाय आवश्यक छन् । बायोपर्खाल निर्माण, अलार्म प्रणाली जस्ता समाधान अपनाउन समुदायले सरकारसँग सहकार्य गर्नु पर्ने बताए ।
सृजना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले मानव–वन्यजन्तु द्वन्द्वका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको र यसले स्थानीय जनजीवनमा भएको वातावरण सिर्जना गरेको जनाउँदै, सचेतना र पूर्वतयारीमार्फत समस्यालाई न्युनिकरण गर्न यस्तो कार्यक्रम आवश्यक रहेको जनाएका छन् ।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले अभिमुखिकरण कार्यक्रमले आफूहरूलाई सजग बनाएको भन्दै आगामी दिनमा सामुदायिक सतर्कता र सहकार्यमा आधारित कदमहरू चाल्ने प्रतिबद्धता व्यक्त गरे । सहभागी सबै पक्षहरूले दीर्घकालीन रणनीति, स्थानीय तहको समन्वय र सरकारी सहयोगमा आधारित भएर मानव–वन्यजन्तु सहअस्तित्वको वातावरण निर्माण गर्न साझा प्रतिवद्धता जनाएका थिए ।