दशैंको अवधीमा विभिन्न घटना, तीनको मृत्यु
तुलसीपुर, २७ असोज ।
दशैंको अबधीमा दाङमा भएका विभिन्न घटनामा तीन जनाको मृत्यु भएको छ । घटस्थापनादेखि पूर्णीमासम्म भएका विभिन्न घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दशैंमा मदिरा खाएको समयमा विवाद हुँदा घोराही उपमहानगरपालिका वडा नं. १५ शुष्मारोड निवासी ३२ वर्षीय ईन्द्रबहादुर रावतलाई घोराही ५ वसन्तपुर निवासी १९ वर्षीय राजकुमार केसीले बाँसको ठेटाले आक्रमण गर्दा रावतको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै गत सोमबार दिउँसो पौने १ बजेतिर मदिरा खाएको बेला भएको विवादका क्रममा केसीले रावतमाथि बाँसको ठेटाले टाउकोमा आक्रमण गरेका थिए । अहिले केसी विरुद्ध मुद्धा चलिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
यस्तै २० गते अटो र मोटरसाईकल दुर्घटना हँुदा ६ महिनाकी वालिका गिनिसा वलीको मृत्यु भएको हो । रा १ ह ४३११ नम्बरको अटो र रा ३ प ७३७६ नम्बरको मोटरसाईकल घोराही १५ सुष्मा रोडको भुपाल चोकमा एकआपसमा ठोक्किदा सोही ठाउँ निवासी वालिका वलीको मृत्यु भएको हो । यस्तै असोज १६ गते दंगीशरण गाउँपालिका वडा नं. ५ निवासी ६२ वर्षीय रामबहादुर शाहलाई सोहि ठाउँ निवासी २३ वर्षीय रामकृष्ण चौधरीले हतियार प्रहार गरि हत्या गरेका थिए ।
गरगहना चोरी
यस्तै असोज २३ गते घोराही उपमहानगरपालिका १५ काठेकोहल मित्रटोलमा सुदन आचार्यको घरवाट ७ तोला सुनका गहना, ४० तोला चादी र नगद एकलाख २५ हजार चोरी भएको हो । सोहि ठाउँको रामहरी शर्माको घरमा भाडामा बस्दै आएका मञ्जु गिरीको ६ तोला सुन, एउटा ल्याप्टप र नगद ६९ हजार चोरी भएको प्रहरी प्रमुख भट्टराईको भनाई छ । यसैगरि दशैको अन्तिम दिन आईतबार प्रहरीले लागूऔषध सहित ५ जनालाई घोराहीबाट प्रक्राउ गरेको छ । ३९ सय ७० पिस नेपालमा प्रतिबन्धीत ट्रमाडोल टयाव्लेट सहित प्रक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । प्रक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का १५ वर्षिय कपिल केसी, सोहि ठाउँका १७ वर्षिय प्रविन विश्वकर्मा, घोराही १४ का २१ वर्षिय लिजन विसी, सोहि ठाउँका २१ वर्षिय सरोज केसी र २१ वर्षिय भिमबहादुर बुढामगरलाई दाङ प्रहरीले पक्राउ गरेको छ । उनीहरु विरुद्ध लागूऔषध ओसारपोसार विरुद्ध मुद्धा चलाईने जनाईएको छ ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरबाट सात जुवाडेलाई शुक्रबार पक्राउ गरिएको हो । शुक्रबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँ निवासी विरेन्द्रमान श्रेष्ठको घरमा तास खेलिरहेका अवस्थामा १० गड्डी तास र ५२ हजार ८ सय ६० रुपैँया सहित सातजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ६ निवासी ५० बर्षीय नारायण केसी,सोही ठाउँका ४६ बर्षीय ईन्द्र कुमार बुढाथोकी, सोही ठाउँका ३८ बर्षीय सन्तोष केसी, सोही ठाउँका ३८ बर्षकै हेमराज अधिकारी, सोही ठाउँका ४१ बर्षीय खड्क न्यौपाने, ५५ बर्षीय भिम बहादुर खड्का, तुलसीपुर ५ बस्ने ५८ बर्षीय चुर्ण बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
विगतका बर्षभन्दा मर्यादित
जिल्ला प्रहरी प्रमुख भट्टराईले दाङमा विगतको दशैंको तुलनामा शान्ति सुरक्षाका हिसाबले मर्यादित रहेको समेत बताए । उनले विगतको तुलनामा दुर्घटनामा पनि कमी आएको उनको भनाई थियो । चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न प्रहरीले पनि सुरक्षा ब्यवस्थालाई कडा बनाएको हुन्छ ।