तीन दलले भने ‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक’
काठमाडौं, ६ पुस ।
संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख ३ दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो ।
३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।
संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि गरेका छन् । कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको बताए ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, डा। मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल बैठकमा सहभागी थिए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गर्दै नयाँ निर्वाचन मिति घोषणा गरेका थिए ।