पश्चिम क्षेत्रमा पहिलोपटक सुनचाँदी गहना निर्माण तालिम सम्पन्न, प्रशिक्षार्थीका हातबाट बनेका गहनाको प्रदर्शनी


कोहलपुर जेठ ११– पश्चिम नेपालमा पहिलोपटक सञ्चालन गरिएको सुनचाँदी गहना निर्माण सम्बन्धी आधारभूत सीपमूलक तालिमको समापन कार्यक्रम कोहलपुरमा भव्य रूपमा सम्पन्न भएको छ । एक महिनासम्म सञ्चालन भएको यस तालिममा सहभागी प्रशिक्षार्थीहरूले आफ्नै हातले बनाएका सुन, चाँदीका औँठी, बाला, ब्रास्लेट र मुन्द्राहरूको प्रदर्शनसमेत गरिएको थियो ।
समापन कार्यक्रमको उद्दघाटन गर्दै कोहलपुर नगरपालिका नगर प्रमुख (मेयर) पूर्णप्रसाद आचार्यले हामीले पहिलो पटक यस्तो तालिम यहाँ सञ्चालन गर्यौ, र पहिलो प्रयासमै अत्यन्त उत्साहजनक परिणाम पाएका छौं, उनले भने गहनाको गुणस्तर हेर्दा प्रशिक्षार्थीहरूमा क्षमता प्रसस्त देखिएको छ । यस तालिमले केवल गहना बनाउने सीप मात्र नभई उद्यमशीलताको ढोका पनि खोलिदिएको बताए ।


उनले नगरस्तरबाट युवालाई स्वरोजगारमुखी बनाउने प्रयासमा निरन्तर लागिरहेका छौं । यस तालिमले उत्पादन, रोजगार र उद्यमशीलता तीनै क्षेत्रमा सकारात्मक सन्देश दिएको बताउँदै एडभान्स तालिमका लागि आवश्यक बजेट र नीति समन्वयमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य देविलाल सुनार गहना निर्माण जस्तो परम्परागत पेशा आधुनिक प्रविधि र डिजाइनमा रूपान्तरण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक रहेको बताउँदै यस्तो तालिमबाट स्थानीय स्तरमै स्वरोजगारको अवसर सिर्जना गर्न सकिने बताए । प्रशिक्षार्थीहरूले छोटो समयमा सिकेको सीपबाट देखिएको उपलब्धि उत्साहजनक रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।


कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरप्रसाद विकले यस्ता व्यावसायिक तालिमले समुदायमा सीप प्रवाह गर्ने काम गरेको बताए । शिक्षित बेरोजगार युवालाई व्यावसायिक रुपमा सक्षम बनाउन यस्ता तालिम आवश्यक छ भन्ने बुझाइमा हामी छौं, यसरी युवाहरू विदेश जानुको साटो आफ्नै ठाउँमा केही गर्न सक्ने बन्न सक्ने बताए ।
उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले सीप सिकेका युवालाई बजार र उद्योगसँग जोड्न सक्यौं भने, यसले आर्थिक वृत्तमा ठुलो योगदान पु¥याउँने बताए । गहना उद्योगजस्तो सम्भावनायुक्त क्षेत्रमा यस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई प्रोत्साहन दिनेछन् संघको तर्फबाट सहयोग र सहकार्य गर्न हामी सधैं तयार रहेको उने बताएका छन् ।


उक्त तालिमका प्रशिक्षक शंकर विकले यो तालिम पश्चिम क्षेत्रमा पहिलोपटक सञ्चालन गरिएको हो । पहिलो प्रयासमै प्रशिक्षार्थीहरूले देखाएको लगनशीलता र सिर्जनात्मकताले भविष्यमा यस क्षेत्रलाई गहना उत्पादनको हब बनाउन सकिने संकेत दिएको बताए यहाँ सिकेका सीपहरू अब उनीहरूलाई व्यवसायमा रूपान्तरण गर्न सकिने कुरा जोड दिए ।


तालिममा सहभागि प्रशिक्षार्थीहरुले तालिमले हामी युवालाई नयाँ जीवनको सम्भावना देखाएको बताएका छन् । हामीमध्ये धेरैलाई पहिले सुनचाँदी गहना बनाउने सीप त के, त्यो व्यवसायको सम्भावनाबारे पनि थाहा थिएन । तर अहिले एक महिनाको अवधिमा हामीले सुन, औँठी, बाला, मुन्द्रा, ब्रास्लेटजस्ता गहना आफैँले बनाउनु मात्र नभई त्यसमा मिहिन कला पनि प्रयोग गर्न सक्ने भएका छौं । हामी अब आत्मनिर्भर बन्ने बाटोमा अघि बढ्न प्रेरित भएको उनिहरुले बताएका छन् ।


यो तालिमले हामीलाई आत्मविश्वास दिलाएको छ । अब हामी बजारमा प्रतिस्पर्धा गर्न सक्ने गहना उत्पादन गर्न सक्छौं भन्ने महसुस भएको छ । अब एडभान्स तालिम पनि हामीले यहीँ पाउँछौं, जसबाट अझै थप सिप सिकेर व्यवसायको रूप दिन सकियोस् भन्ने तालिममा सहभागि प्रशिक्षार्थीहरुको भनाई रहेको छ ।


उक्त समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूद्वारा बनाइएका विभिन्न गहनाहरूको अवलोकन गर्दै प्रशंसा गरीएको थियो । हरेक गहनामा देखिएको मिहिनेत, कलात्मकता र परिश्रमले तालिमको प्रभावकारिता स्पष्ट पारेको थियो । प्रदर्शनीमा रहेका गहनाहरूले स्थानिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएको आयोजकहरूले बताएका छन् ।


तालिम मध्य तथा सुदूर पश्चिम सुनचाँदी गहना व्यवसायी संघ, कोहलपुरको आयोजनामा तथा कोहलपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको हो । समापन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको उपस्थिति थियो। कार्यक्रममा सहभागी प्रमुख व्यक्तित्वहरूले आफ्नो धारणा राख्दै यस प्रकारको सीप विकास कार्यक्रम युवाहरूको स्वरोजगारका लागि निकै प्रभावकारी हुनेमा जोड दिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर