सिक्टा सिँचाइ आयोजनास् पूर्वी मूल नहरको पहिलो शाखा नहर निर्माण सुरु

कोहलपुर जेठ ११- सिक्टा सिँचाइ आयोजना अन्तर्गत पूर्वी मूल नहरमा पहिलो पटक शाखा नहर निर्माणको काम सुरु भएको छ। राप्ती सोनारी गाउँपालिका–४ स्थित लटनिया गाउँबाट शाखा नहर निर्माण थालिएको हो।

आयोजनाका निर्देशक राजु आचार्यका अनुसार, पूर्वी मूल नहरमा पहिले नै पानी सञ्चालित भए पनि शाखा नहरको संरचना निर्माण भएको थिएन। यसअघि स्थानीयवासीहरू ‘राजकुलो’ प्रयोग गरेर सिँचाइ गरिरहेका थिए। अब भने पहिलोपटक आयोजनाले आफ्नै शाखा नहर निर्माणको काम अघि बढाएको हो।

चार किलोमिटर लामो रहने यस शाखा नहरमा १।४ किलोमिटरको दुरीबाट तीनवटा प्र–शाखा नहरहरू छुट्याइनेछन्। आयोजना अन्तर्गत निर्माणको जिम्मा पिएस निर्माण सेवा कम्पनीलाई दिइएको छ, जसका लागि ५ करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो।

सिक्टा सिँचाइ आयोजनाका इन्जिनियर विनेश श्रेष्ठका अनुसार, निर्माणपश्चात् यस शाखा नहरमार्फत करिब ६७० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ। सतह सिँचाइ सम्भव नभएका क्षेत्रका लागि वैकल्पिक उपाय स्वरूप लिफ्ट सिँचाइ प्रणाली लागू गरिने भएको छ, जसका लागि साढे ५ करोड रुपैयाँको छुट्टै ठेक्का सम्झौता भइसकेको छ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले परियोजनाको कार्यान्वयनप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै किसानहरू उत्साहित भएको बताए। साथै, मुआब्जा लगायतका विषय सुल्झाउँदै सबै वडामा सिँचाइको पहुँच पुर्‍याउन जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर