कोहलपुरमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

कोहलपुर जेष्ठ १० – कोहलपुर नगरपालिका वडा नं. १२ स्थित सृजना सामुदायिक वन उपभोक्ता समूहको पहलमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समुदायस्तरमै बढ्दो वन्यजन्तुजन्य समस्या र त्यसले किसानहरूको जीविकोपार्जनमा पारेको असरलाई ध्यानमा राखी कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापन, जैविक विविधताको संरक्षण, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, र द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी विषयमा जानकारी प्रदान गरिएको थियो । साथै, समुदायका सदस्यहरूबाट समस्या पहिचान तथा समाधानका उपायहरूबारे सुझाव संकलन समेत गरिएको थियो।
उक्त क्षेत्रमा विगत केही वर्षयता वन्यजन्तुको आक्रमणका कारण स्थानीयको बाली नष्ट हुने, सिंचाइ प्रणालीमा क्षति पुग्ने, र मानिसहरूको जनधन जोखिममा पर्ने घटनाहरू दोहोरिंदै आएका छन्। खासगरी जंगली हात्ती, बँदेल, र बाँदर जस्ता वन्यजन्तुहरूबाट हुने क्षति लगातार बढ्दै गएको स्थानीयको भनाइ छ।
यस किसिमको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न समुदायमा चेतना अभिवृद्धि, जोखिम न्यूनीकरणका उपायहरूको प्रयोग, र सम्बन्धित निकायहरूसँग समन्वय आवश्यक रहेको निष्कर्ष कार्यक्रममा निकालिएको छ।
कार्यक्रमले समुदायस्तरमा यस्ता समस्या समाधानका लागि सहकार्य र संवादको खाँचो रहेको संकेत दिएको छ। आयोजक संस्थाहरूले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समस्याको दीर्घकालीन समाधानतर्फ अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अभिमुखिकरण कार्यक्रममा स्थानीय किसान, महिला समूहका प्रतिनिधि, वन उपभोक्ता समूहका सदस्य, पत्रकार, सामाजिक अभियन्ता, र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले वन्यजन्तुसँग सहअस्तित्वमा बस्न सकिने उपायहरू, पूर्व तयारी रणनीति, र राहत तथा क्षतिपूर्तिको प्रक्रियाबारे जानकारी लिएका थिए।
कार्यक्रमको आयोजना सञ्चारिका समूह, बर्दियाले गरेको हो भने सह–आयोजकको रूपमा मेरो उडान अनलाइन सहभागी थियो। कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक सहयोग डिभिजन वन कार्यालय, बाँके र कोहलपुर नगरपालिका कार्यालयबाट प्राप्त गरिएको थियो ।