तुलसीपुरबाट पिसिआर परिक्षणका लागि नमुना स्वाब संकलन शुरु
भुपेश ओली,
तुलसीपुर, १९ बैशाख ।
कोरोना भाईरस संक्रमणको पिसिआर परिक्षण गर्नका लागी तुलसीपुरबाट पनि नमुना स्वाब संकलन गर्न थालिएको छ । तुलसीपुरमा रहेको मेट्रोसीटी पोलिक्लिनिक प्रालिले कोरोना परिक्षणका लागि आवश्यक स्वाब संकलनको काम शुरु गरेको हो ।नमुना स्वाव संकलन तुलसीपुर स्थित अरनीको मैदानबाट सुरु गरिएको हो । पिसिआर परिक्षणका लागि पश्चिम दाङका नागरिक घोराही वा अनेत्र जानु पर्ने बाध्यता थियो ।
अब देखी तुलसीपुरमै स्वाब संकलनको व्यवस्था गरिएको पोलिक्लिनिकका संचालक बसन्त योगीले जानकारी दिनुभयो । प्रालिले तुलसीपुरको अरनिको मैदानमा आईतवार विहान ८ देखि १२ बजेसम्म स्वाब संकलन गरेको हो । भोलि (सोमवार)बाट सोहि स्थानमै दैनिक बिहान ७ देखि १२ बजेसम्म स्वाब संकलन हुने उहाँको भनाई छ ।
बिए डायग्नोस्टीक एण्ड पोलिक्लिक र बागेश्वरी डायग्नोस्टीक तथा पोलिक्लिनिकसंगको सहकार्यमा मेट्रोसिटी पोलिक्लिनिक प्रालिले पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्न शुरु गरेको हो ।पिसिआर परिक्षणका लागि सरकारले नीजि प्रयोगशालालाई तोके अनुसारको शुल्क लाग्ने उहाँको भनाई छ । तुलसीपुरमा स्वाब संकलन गरी कोहलपुरमा पिसिआर परिक्षण गर्ने उहाँले बताउनुभयो । तुलसीपुरमै स्वाब संकलन हुने भएपछि पिसिआरका लागि घोराही जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ ।