महिलामा तिब्र गतिमा बढ्दो महिनावारी स्वास्थ्य समस्या
![](https://www.dangtvonline.com/wp-content/uploads/2022/03/Periodproblems-810x448.jpg)
दाङ्ग । दिन प्रतिदिन बदलिदो जिबनशैलीले महिलाहरुको महिनावारीमा प्रभाव पारिरहेको छ। महिला स्वास्थ्यको एक महत्वपूर्ण पाटो हो महिनावारी स्वास्थ्य । पछिल्लो समय महिलामा महिनावारी अनियमिततासँगै उमेर अनुसार विभिन्न समस्याहरु बढ्दै गएको पाइन्छ । अस्पताल आउने महिलामा देखिने स्त्रीरोगमध्ये झन्डै २० प्रतिशत महिनावारी अनियमितता र यससँग सम्बन्धित विभिन्न समस्या रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको तथ्यांक छ ।
बद्लिँदो जीवनशैली, तनाव र खानपानले पनि यस्ता समस्या निम्त्याइहेको विशेषज्ञहरु बताउँछन् । आकस्मिक गर्भनिरोधका साधनको बढ्दो प्रयोगले पनि महिनावारी स्वास्थ्यमा समस्या बढाएको विभिन्न अध्ययनहरुले देखाएका छन् । महिनावारीको समयपछि सर्ने, पिरियडबाहेकका दिनमा पनि रक्तस्राव हुनेजस्ता समस्या पनि आकस्मिक तथा लामो समयसम्म प्रयोग गरिने परिवार नियोजनका साधनको कारण निम्तिने समस्या हुन् ।
भर्खरै महिनावारी सुरु भएका बालिकामा प्रजनन प्रणाली परिपक्व नभइसकेका कारण धेरै दिनसम्म रक्तस्राव भइरहने, बीचबीचमा रक्तस्राव हुने वा केही महिनाको अन्तरमा मात्रै महिनावारी हुनेजस्ता समस्या देखिन सक्छन् । तर, उमेर बढ्दै जाँदा यस्ता समस्या हराएर जाने गर्दछन् । त्यस्तै प्रजननयोग्य उमेरका महिलामा डिपो, नरप्लान्ट, पिल्सजस्ता परिवार नियोजनका साधन प्रयोग गर्नेहरुमा महिनावारी अनियमितता हुनसक्छ ।
स्तनपान गराइरहेका महिलामा पनि अनियमित रुपमा सक्तस्राव हुनसक्छ । तर, वयस्क उमेरका महिलामा पाठेघरमा मासु पलाएको वा अन्य केही समस्याले पनि अनियमित रक्तस्राव गराउनसक्ने पाइएको छ । मोटोपना भएका महिलाहरुमा भने पुरुष हर्मोन बढी देखिने भएकाले उनीहरुमा महिनावारीबारे अनियमितता हुने गरेको पाइएको छ ।
स्वस्थ महिनावारी प्रक्रियाका लागि खानपानमा विशेष ध्यान दिन र मोटोपना घटाउन विशेषज्ञहरु सल्लाह दिन्छन् ।