कोहलपुरमा सवारी चालक र सहचालकका लागि निःशुल्क आँखा परिक्षण शिविर

कोहलपुर, जेठ ९ — बाँकेको कोहलपुरमा सवारी चालक र सहचालकहरूको निःशुल्क आँखा परिक्षण गरिने उद्देश्यले आँखा शिविर सम्पन्न गरिएको छ।
कोहलपुर बसपार्कबाट सञ्चालित सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गरी आयोजित यो शिविरमा करिब २०० जनाले आँखा परीक्षण गराएका छन्।
शिविर ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल बाँके तथा बागेश्वरी यातायात प्रालीको सहकार्य रहेको थियो।
सवारी सुरक्षाका लागि आँखा परीक्षण अपरिहार्य
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले चालक र सहचालकको दृष्टि क्षमता सवारी सुरक्षासँग प्रत्यक्ष सम्बन्धित रहेको भन्दै नियमित रूपमा स्वास्थ्य परीक्षण आवश्यक रहेको बताए। “यदि आँखामा समस्या देखिएर शल्यक्रिया गर्नुपर्ने भयो भने नगरपालिकाले फत्तेबाल अस्पतालसँग सहकार्यमा आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ,” नगरप्रमुख आचार्यले प्रतिबद्धता जनाए।
दुर्घटना न्यूनीकरणको प्रयास
ईलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख लक्ष्मी खनालले दुर्घटनाको एक प्रमुख कारण दृष्टि कमजोरी रहेको उल्लेख गर्दै यस्तो खालको स्वास्थ्य शिविरले दुर्घटना न्यूनीकरणमा सकारात्मक भूमिका खेल्ने बताइन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार, चालु आर्थिक वर्षमा मात्र ४०९ वटा सवारी दुर्घटना बाँके जिल्लामा भएका छन्।
यस आँखा शिविरमा सवारी चालक, सहचालक तथा यातायात व्यवसायीहरू गरी झण्डै २०० जनाले लाभ लिएका छन्। कार्यक्रमले चालकहरूमा स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सवारी सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।