सल्यानमा बुहारीले गरिन् सासुको हत्या

सल्यान, २२ असोज ।
सल्यानमा आफ्नै सासुको हत्या गर्ने बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको हत्या गरेको आरोपमा १८ वर्षीया बुहारी सर्मिला बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । गत असोज १८ गते बिहान आफ्नै घरभित्र खाद्यान्न राख्ने भकारीका मृत फेला परेकी गणेशीको बुहारी सर्मिलाले नै हत्या गरेको खुलेपछी प्रहरीले उनलाई पक्राउ गरेको हो । घरभित्रै खाद्यान्न राख्ने भकारीमा शव भेटिएपछी घटना शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान गर्दै जाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि सर्मिलालाई घरबाटै पक्राउ गरिएको हो ।
पक्राउ परेकी सर्मिलालाई जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सर्मिलाले गत वैशाखमा मात्र गणेशी रोकाको छोरा २१ वर्षीय अमर रोकासँग बिहे गरेको बताइएको छ । सर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकै कारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरिसकेको प्रहरीको भनाई छ । उनले आफूले मारेर कसैले थाहा नपाओ भनेर नैे भकारीमा लुकाएको समेत स्विकार गरेको प्रहरीले जनाएको छ । १५ गते नै सर्मिलाले सासुको हत्या गरेको प्रहरीले जनाएको छ ।