युवाका मुद्दामा बहस र प्रदर्शन: लुम्बिनी युथ फेस्टिवल सम्पन्न

कोहलपुर फागुन १७ – लुम्बिनी प्रदेशका युवाहरूको व्यापक सहभागितामा लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल–२०८१ भव्य रूपमा सम्पन्न भएको छ । कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जाल बाँकेको आयोजनामा फागुन १५ गतेदेखि सुरु भएको फेस्टिवल तीन दिनसम्म विभिन्न कार्यक्रमसहित सम्पन्न भएको हो ।
फेस्टिवलको पहिलो दिन कला र संस्कृति महोत्सव अन्तर्गत लोक नृत्य, चित्रकला प्रदर्शनी, तथा विविध प्रतियोगिताहरू सञ्चालन भए । दोस्रो दिन युवा महोत्सव तथा बहस कार्यक्रम आयोजना गरियो, जसमा राजनीति, सामाजिक परिवर्तन, जलवायु परिवर्तन र युवा सशक्तीकरणका विषयमा छलफल भयो। तेस्रो दिन शैक्षिक महोत्सव अन्तर्गत शैक्षिक प्रदर्शनी तथा कृषि प्रविधि सम्बन्धी स्टलहरू राखिएका थिए ।
फेस्टिवल अवधिभर समूहगत सांस्कृतिक नृत्य प्रतियोगिता, सार्वजनिक वक्तृत्व प्रतियोगिता, तथा अन्य स्टल प्रदर्शनीहरू मुख्य आकर्षण बने । आयोजक समितिका अध्यक्ष रमेश वरका अनुसार पहिलो पटक आयोजना गरिएको फेस्टिवल भव्य रूपमा सम्पन्न भएको छ । “लुम्बिनी प्रदेशभरिका युवाहरूको सहभागिता हाम्रा लागि उत्साहजनक रह्यो। यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनेछौँ,” उनले भने।
फेस्टिवलमा पर्यावरणीय कृषिका लागि लुम्बिनी प्रदेशस्तरीय युवा सञ्जाल सह-आयोजकको रूपमा रहेको थियो भने मुख्य संरक्षकको रूपमा कोहलपुर नगरपालिका सहभागी थियो । फेस्टिवलको सफलता युवाहरूको सहभागिताले सिद्ध गरेको आयोजकहरूको भनाइ छ ।
यस महोत्सवले युवाहरूबीच विचार आदानप्रदान, क्षमता अभिवृद्धि, तथा सामाजिक परिवर्तनको पहल गर्ने अवसर प्रदान गरेको आयोजकहरूको विश्वास छ।