चैते धान रोप्न व्यस्त दाङका किसान

दाङ वैशाख ६-, भूगोलका दृष्टिले विकट मानिने बंगलाचुली गाउँपालिकाअन्तर्गत अर्जुनखोला र सुकाखोलाका फाटहरु कृषिका लागि भने उर्भर भूमीका रुपमा रहेका छन् । वर्षाको समयमा यातायात सुविधाबाट वञ्चित हुने यी ठाउँका स्थानीयलाई कृषिका लागि अर्जुनखोला र सुकाखोला बरदान सावित भएका छन् ।
कहिल्यै पानी नसुक्ने अर्जुन र सुका खोलाको पानीलाई सिँचाइमा परिणत गरेर स्थानीयले तरकारी खेतीसँगै वर्षमा दुई बाली धान खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । बंगलाचुली गाउँपालिका–८ खैरेनी निवासी शेरबहादुर बुढाथोकीलाई चैते धान रोप्न व्यस्त हुनुहुन्छ । वैशाखको गर्मीमा पनि धान रोप्नका लागि खेत जोत्ने, पानी मिलाउने, ब्याड काट्न बुढाथोकीको परिवारका सदस्यलाई भ्याइनभ्याइ छ ।
बुढाथोकीले अर्जुनखोलाको छेउमा रहेको करिब दश कट्ठा खेतमा चैते धान रोप्न थालेको बताउनुहुन्छ । घर परिवारका लागि फुर्सदको समयमा चैत धान खेती थप आम्दानीको स्रोत बन्ने भएपछि विगत लामो समयदेखि चैते धान खेती गर्दै आएको बुढाथोकी बताउनुहुन्छ । अर्जुनखोलाको पानीले सिँचाइको सुविधा भएकाले बर्खेसँगै चैते धान खेती गर्न सहजता भएको भन्दै बुढाथोकीले भन्नुभयो, ‘‘यो किसानका लागि आम्दानी बढाउने राम्रो माध्यम हो ।’’
उहाँका अनुसार किसानले चैतको अन्तिम वा वैशाखको पहिलो हप्तासम्म रोपेर सक्ने र असारको अन्तिम वा साउनको पहिलो हप्तासम्म धान पाक्ने गर्दछ । चैते धान रोप्नका लागि किसानले फागुन महिनामा ब्याड राख्ने गरेको बताउनुभयो ।
खैरेनीकै चुमा रानाको परिवार धान रोप्न व्यस्त छ । वर्षमा दुई बाली धान खेती गर्ने गरेको राना परिवारले करिब छ कट्ठा खेतमा अहिले चैते धान रोप्न लागेको रानाले बताउनुभयो । पानीको सुविधा भएको र उत्पादन पनि राम्रो हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको राना बताउनुहुन्छ । अर्जुन खोलाको पानीले सिञ्चित भएको करिब छ कट्ठा खेतमा चैते धान रोप्ने काम भइरहेको रानाले बताउनुभयो ।
वर्षमा दुई बाली धान खेती गर्ने स्थानीयको परम्परा जस्तै भएको भन्दै किसान रानाले भन्नुभयो, ‘‘चैते धानका लागि यो ठाउँमा पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रो हुने भएकाले बर्षौदेखि हामीले धैते धान रोप्दै आएका छौँ ।’’
उहाँका अनुसार स्थानीयले चैते र बर्खे गरेर वर्षमा दुई बाली धान खेती गर्ने गरेका छन् । पहाडी क्षेत्रमा थोरै जग्गा हुने भएकाले एक बाली मात्रै खेतीले परिवारलाई खानसँगै घर व्यवहार चलाउन समस्या हुने भएकाले बर्सेनि दुई बाली धान खेती गर्ने गरेका छन् ।
वर्षमा दुई बाली धान खेती गरेर राम्रो आम्दानी हुने भएपछि बंगलाचुली गाउँपालिका ३, ४ र ८ नम्वर वडाका अधिकांश किसानले चैते धान रोप्ने गरेको बंगलाचुली गाउँपालिका–४ का अध्यक्ष डासबहादुर डाँगी बताउनुहुन्छ । उहाँका अनुसार खैरेनी, गहतेरा, सुकाखोलालगायतमा ठाउँमा चैते धान खेती हुने र पहिलेको तुलनामा बढ्दै गएको बताउनुहुन्छ ।
वडा अध्यक्ष डाँगीका अनुसार वर्षमा दुई बाली धान खेती गर्ने किसानले एक बाली गहुँ वा मसुरो गर्ने गरेका छन् । अहिले रोपेको धान साउनको पहिलो साता काटेपछि पुनः सोही खेतमा बर्खे धान रोप्ने रोप्ने गर्दछन् । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवम् कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार घोराही उपमहानगरपालिका १, बंगलाचुली गाउँपालिका ३, ४ र ८ वडा नम्वरसँगै देउखुरी क्षेत्रको दुई हजार पाँच सय हेक्टरमा चैते धान खेती हुने गरेको छ । कृषि अर्थविज्ञ लामिछानेले किसानले चैते धान खेतीबाट राम्रो आम्दानी लिने गरेको बताउनुहुन्छ ।