टेक्ने ठाउँ चाहिन्छ-कवि महेश पौड्याल

कोहलपुर बैशाख ७,
जमिन नछोड सोल्टी,
टेक्ने ठाउँ चाहिन्छ ।
प्वाँख छन् भन्दैमा कहाँ आकाशमा बास बस्छन् र चराहरू
बादल पनि त घर फर्कन्छ, बर्सात बनेर ।
जमिन नछोड सोल्टी,
टेक्ने ठाउँ चाहिन्छ ।

कवि महेश पौड्यालले ‘जमीन’ शीर्षकको यो कविता सुनाउँदा नेपालगन्जको अलाइड कलेजको हलमा उपस्थित दर्शकहरूको तालीले उनको स्वर मधुरो सुनियो ।

आफु समालोचक भएर उभिएपछी कसै न कसैले गाली गरे पनि कविता सुनाएपछि त्यसको क्षतिपूर्ति हुने गरेको बताए । उनले नेपालगन्ज स्वादको सहर पनि भएको बताउँदै ‘नाम’ शीर्षकको कविता वाचन गरे ।

आफैँले बनाएँ यो सहर
आफैँले ध्वस्त पारेँ ।

खरानीको यस रासमाथि
कतै मेरो नाउँ लेखिएको अवशेष बाँकी छ कि
अहिले म त्यसैको खोजीमा छु ।

कवि पौड्यालले सुनाएका प्रत्येक कवितामा तालीको रौनकले उनलाई थप कवितामा वाचन गरुँ गरुँ लाग्दै गएको समेत बताएँ ।

आइतबार नेपालगन्जको अलाइड कलेजमा आयोजना गरिएको कवि महेश पौड्यालको एकल कविता वाचन तथा विमर्श कार्यक्रम उनले डेढ दर्जन बढी आफ्ना लामा, छोटा कविता वाचन गरें । त्यसमा उनले हालको समसामयिक, देश प्रेम, सीमाना, माया पिरती लगायतका विविध विषयका कविता सुनाए ।

कवितामा नयाँ पुस्तालाई जोड्ने अभियानलाई निरन्तरता दिन कविता वाचनको कार्यक्रम गरिएको कवि कपिल अन्जानले बताए । उनले समग्र पश्चिम क्षेत्रमा नयाँ पुस्ताका अनुहार कम देखिन थालेपछि यस्ता कार्यक्रम आयोजना गरिएको पनि बताए ।

कार्यक्रमम साहित्यकार प्रा.डा.कृष्ण प्रसाद घिमिरेले प्राविधिक शिक्षा पढेकालाई पनि साहित्यमा समेट्ने यो प्रयासमा कवि महेश पौड्याल जोडिनुले पनि अर्थ राख्ने बताए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथी एवं कलेजका संस्थापक डा.रेवती सिंहले यो कार्यक्रमले आगामी दिनमा साहित्यमा अग्रसर हुने अध्ययनरत विद्यार्थीहरूलाई हौसला दिने बताइन् । उनले यस्ता रचनात्मक कार्य गर्नका लागि आफ्नो कलेज तयार रहेको पनि बताइन् ।

अलाइड कलेजका प्रिन्सिपल शिशिर सापकोटाले कलेजमा यस्ता खालका कार्यक्रम आयोजना गर्नाले साहित्यको विकास सँगसँगै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई पनि हौसला थपिने बताए ।

सकेसम्म नेपाली साहित्यलाई साहित्य लेखनमा लागेका व्यक्ति भन्दा बाहिर जरुरी ठानेर यो अब स्कुल, कलेज र सार्वजनिक ठाउँ गर्न सहकार्य गर्दै जाने कवि डा.देवेन्द्र आचार्यले बताए । साथै उनले कवि पौड्यालको हार-जीत शीर्षकको कविताले भने जस्तै सगरमाथामाथि अर्जुनदृष्टि दागेर अघि बढ्नेहरू जहिल्यै विजयी भएको पनि बताए ।

कार्यक्रममा कविहरू मणि अर्याल, चन्द्रावती अधिकारी, विपि अस्तु, खेम बगर, प्रवेश शाह, बिना रोका लगायत २०० भन्दा बढी विद्यार्थी लगायतको उपस्तिथि रहेको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर