कोहलपुर नगरपालिकाले बनाउँदैछ आमसञ्चार नीति

कोहलपुर, वैशाख ८ – बाँकेको कोहलपुर नगरपालिकाले पहिलोपटक आमसञ्चार नीति बनाउने प्रक्रिया सुरु गरेको छ। नीति निर्माणका लागि नगरपालिकाले सरोकारवाला पक्षहरूसँग सल्लाह र सुझाव लिने कार्य प्रारम्भ गरेको छ।

यसै सन्दर्भमा सोमबार कोहलपुरमा सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सञ्चार नीतिको प्रारम्भिक मस्यौदामाथि विस्तृत छलफल गरियो।

नीति मस्यौदा तयार गर्न नेपाल पत्रकार महासङ्घ बाँके शाखाका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा रोजगार शाखा प्रमुख आशिष वर्मा र प्रेस संयोजक प्रीयास्मृति ढकाल सदस्य रहेका छन्।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले सञ्चारमाध्यमको दीर्घकालीन विकास र नगरपालिकाको सहकार्यलाई संस्थागत गर्न नीति अपरिहार्य भएको बताउँदै यस नीतिले स्थानीय सञ्चारमाध्यमहरूलाई दिगो बनाउने विश्वास व्यक्त गर्नुभयो। “नीति निर्माणको यो प्रक्रिया अझै अन्तिम भएको छैन,” उहाँले भन्नुभयो, “सरोकारवाला सबैको सल्लाह र सुझावलाई समेटेर कार्यपालिकामा नीति पेस गर्ने तयारी छ।”

नगर उपप्रमुख सङ्गीता सुवेदीले पनि सहभागी सञ्चारकर्मीहरूको सुझावका आधारमा मस्यौदालाई सुधार गर्दै कार्यपालिका समक्ष प्रस्तुत गरिने जानकारी दिनुभयो। विधायन समिति संयोजक सुनिता सुनार, मस्यौदा समितिका सदस्यहरू लगायतले मस्यौदाका बुँदाहरू प्रस्तुत गर्दै सहभागीहरूसँग सुझाव संकलन गर्नुभयो।

कार्यक्रममा सहभागी पत्रकारहरूले मस्यौदालाई स्वागत गर्दै थप सशक्त, व्यवहारिक र सबै पक्ष समेट्ने नीति बन्नुपर्नेमा जोड दिएका थिए।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर