टेस्लाको नाफा घटेपछि मस्कले ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने

एजेन्सी वैशाख १०- वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताउनुभएको छ ।
मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बिक्री घटेको र कम्पनीले आलोचनाको सामना गर्नुपरेको बीबीसीले जनाएको छ ।
टेस्लाले सार्वजनिक गरेको सन् २०२५ को पहिलो त्रैमासिक प्रतिवेदनमा ‘अटोमोटिभ’ अर्थात् मोटरगाडीसँग सम्बन्धित आम्दानी गएको वर्षको त्यही अवधिको तुलनामा २० प्रतिशतले घटेको उल्लेख छ । यस्तै नाफा ७० प्रतिशतभन्दा धेरैले घटेको छ । मस्कले आफ्नो ध्यान कम्पनीबाट हटेको स्वीकार गर्नुभएको खबरमा उल्लेख छ ।
राष्ट्रपति चुनावमा मस्कले ट्रम्पलाई आर्थिक सहयोगसहित चुनावी अभियानमा पनि सहभागी हुनुभएको थियो । अहिले मस्कले सङ्घीय खर्च कटौती गर्न र सरकारी कार्यबल घटाउन ट्रम्पको सरकारी दक्षता विभागको नेतृत्व गरिरहनुभएको छ ।
मस्कको राजनीतिक संलग्नताले विश्वभर टेस्लाको विरोध र बहिष्कारको अवस्था निम्त्याएको छ ।