बाँकेमा पशुचौपायालाई महामारी विरुद्धको निःशुल्क खोप अभियान सुरु

कोहलपुर, जेठ १७ — गर्मी यामसँगै पशुचौपायामा विभिन्न प्रकारका महामारीको जोखिम बढ्न थालेपछि बाँके जिल्लाका विभिन्न पालिकाहरूमा महामारी विरुद्धको निःशुल्क खोप अभियान सुरु गरिएको छ।

विशेषगरी ६ महिना उमेर नाघेका गाई, भैँसी, बाख्रालगायतका पशुचौपायामा देखिन सक्ने भ्यागुते र चरचरे जस्ता रोग नियन्त्रण गर्न यो अभियान चलाइएको हो। जिल्लाको जानकी गाउँपालिका अन्तर्गत सम्पूर्ण वडाहरूमा अहिले यो अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।

जानकी गाउँपालिकाको पशु सेवा शाखाले १ देखि ६ नं. वडासम्म खोप कार्यक्रम सञ्चालन गर्न १२ जना भ्याक्सिनेटरको टोली परिचालन गरेको छ। शाखा प्रमुख दिलबहादुर खड्काले खोप अभियान सुरु गर्नुको उद्देश्य भविष्यमा रोग फैलिन नदिन पूर्वतयारी गर्नु भएको बताए। “हामीले सबै वडामा टोली खटाएर खोप लगाइरहेका छौं। किसानहरूले राम्रो साथ दिनुभएको छ,” उहाँले भन्नुभयो।

खोप अभियान अन्तर्गत जानकी गाउँपालिकामा रहेका करीब १७ हजार गाईभैँसीलाई खोप दिने लक्ष्य लिइएको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले जानकारी दिनुभयो। उहाँले यो कार्यक्रमले किसानहरूलाई ठूलो राहत मिलेको बताउँदै खोप अभियानले महामारीको जोखिम घटाउने विश्वास व्यक्त गर्नुभयो।

स्थानीय किसानहरू पनि अभियानप्रति उत्साहित देखिएका छन्। जानकी–३ का किसान शिवप्रसाद शर्माले गाउँपालिकाले घरघरमै पुगेर निःशुल्क खोप लगाइरहेकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “अब त हाम्रा गाईभैँसी सुरक्षित छन् भन्ने विश्वास लागेको छ।”

त्यस्तै जानकी–५ का अर्का किसान नरेश यादवले पालिकाले समयमै रोग नियन्त्रणको उपाय अपनाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो। “पालिकाले पशुपालकको चासो लिएको देख्दा गर्व लाग्छ,” उहाँले भन्नुभयो।

खोप अभियान आगामी एक हप्तासम्म सञ्चालन हुने जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विकले सबै किसानहरूलाई आफ्ना ६ महिनाभन्दा माथिका पशुचौपायालाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गर्नुभयो।

यस अभियानले जानकी गाउँपालिकामा मात्रै नभई अन्य पालिकाहरूमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर