खानेपानी ट्याङ्की निर्माण सकियो, मिटर जडान ढिलाइले समस्यामा उपभोक्ता

दाङ जेठ १८, बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा चार वर्षअघि निर्माण भएको खानेपानी आयोजना अझै सञ्चालनमा आउन सकेको छैन। विद्युत् मिटर जडान ढिलाइ भएपछि स्थानीयवासीहरू खोलाको अस्थायी धारामै निर्भर रहन बाध्य छन्।
सुन्दर बस्ती खानेपानी योजना (स्किम नं. २) अन्तर्गत २०७९ सालमा धारापानीबाट रातामाटासम्म पानी लिफ्टिङ गर्ने ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको काम सम्पन्न भइसकेको छ। तर विद्युत् नहुँदा योजना सञ्चालनमा आउन सकेको छैन।
स्थानीय टिकाराम विश्वकर्माका अनुसार, “घरघरमा शुद्ध पानी पुग्ने आशाले ट्याङ्की बनाइएको हो, तर वर्षौं बित्दा पनि पानी नआउँदा अब शंका लाग्न थालेको छ।”
पानीको अभावले सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरू समेत प्रभावित भएका छन्। शिक्षक विजय खरेलका अनुसार, “हिउँदमा केही सजिलो भए पनि वर्षामा पानी धमिलो हुन्छ, कीरा पर्छ, पातपतिङ्गर गल्छ — यस्तो पानी पिउन विद्यार्थीहरू खोलासम्म जान बाध्य छन्।”
सुन्दर बस्ती खानेपानी निर्माण समितिका अध्यक्ष डोमबहादुर खत्री भन्छन्, “स्किम नं. १ मा सोलार जडान गरिएको भए पनि घाम नलाग्दा पानी तान्न सकिएको छैन। अब दुवै स्किममा विद्युत् मिटर जडान गरेर योजना सञ्चालन गर्ने तयारीमा छौं।”
खत्रीका अनुसार योजना प्रदेश सरकारको करिब एक करोडको लगानीमा निर्माण गरिएको हो र सञ्चालनमा आएपछि ६०–७० घरधुरी लाभान्वित हुनेछन्।
स्थानीय तह र सम्बन्धित निकायले ध्यान नदिँदा जबरकोटका नागरिक वर्षौं देखिको आशा बोक्दै अझै पनि खोलामै पानी पिउन बाध्य छन्। वर्षा याम झन् कष्टकर हुने भएकाले खानेपानी योजनाको छिटोभन्दा छिटो सञ्चालन अब अत्यावश्यक देखिन्छ।