राप्ती नदीमा अस्थायी तटबन्ध र कटानको निरीक्षण

कोहलपुर साउन ५-  बाँकेको राप्ती सोनारी गाउँपालिका–७ फत्तेपुरस्थित खल्लाझगडिया क्षेत्रमा राप्ती नदीको कटान रोक्न बनाइएको अस्थायी तटबन्धको स्थलगत निरीक्षण गरिएको छ।

जनताको तटबन्ध आयोजना कार्यालय लमहीका प्रमुख डा. नारायणप्रसाद सुवेदी, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, प्राविधिक टोली तथा सरोकारवाला व्यक्तिहरूले सोमबार सो क्षेत्रको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा आयोजना प्रमुख डा. सुवेदीले तत्कालीन रूपमा बाढीको कटान रोक्नका लागि बाँस र माटो भरिएका बोराको प्रयोग गरी अस्थायी तटबन्ध बनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार वर्षा सकिएपछि बलियो पक्की तटबन्ध निर्माण सुरु गरिनेछ।

उहाँले प्लास्टिकको बोरामा माटो हालेर नदी किनारमा राखिएको र नयाँ प्रविधिको प्रयोग गरेर अस्थायी तटबन्ध बनाइएको जानकारी दिनुभयो। यस्तो प्रविधिबाट कटान धेरै हदसम्म रोकिएको उहाँको भनाइ थियो।

निरीक्षणमा सहभागी कांग्रेस नेतासमेत रहेका सभापति पोषण केसीले राप्ती नदीले खल्लाझगडिया क्षेत्रमा तीव्र कटान गरिरहेको भन्दै तत्काल क्षति रोक्न आवश्यक रहेको बताउनुभयो। उहाँले जनताको तटबन्ध आयोजनाको प्रयासले स्थानीयवासीले केही राहत महसुस गरिरहेको धारणा राख्नुभयो।

दुई वर्षअघि आएको बाढीले खल्लाझगडियाको पक्की तटबन्ध बगाएको थियो। त्यसपछि राप्ती सोनारी र नरैनापुरका स्थानीयवासीले बलियो तटबन्ध बनाउने माग गर्दै आएका थिए।

हरेक वर्षको बाढीले सो क्षेत्रमा कटान र डुबानको समस्या ल्याउँदै आएको छ। यस वर्ष पनि मनसुनसँगै नदीको बहाव बढेकोले वरिपरिका गाउँका बासिन्दा त्रासको वातावरणमा बस्न बाध्य छन्।

तर, यसपालि बाढी आउनुअघि नै अस्थायी तटबन्ध निर्माण गरिएकोले कटान र डुबानबाट धेरै हदसम्म जोगिन सकिने जनताको तटबन्ध आयोजना कार्यालय लमहीले जनाएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर