तुलसीपुरमा २१ वर्षीय युवक मृत फेला,

दाङ साउन ५- दाङको तुलसीपुरमा एक २१ वर्षीय युवक मृत अवस्थामा फेला परेका छन्। तुलसीपुर उपमहानगरपालिका–१२ कचिलाका किरण खत्री आइतबार साँझ सितलपुर घाट नजिकै मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीका अनुसार, साँझ साढे ६ बजे खत्रीको शव सितलपुर घाट नजिकै फेला परेको हो। शवमा कुनै देखिने चोटपटक छैन। पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको र विस्तृत कारण पोष्टमार्टमपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ।
परिवारका अनुसार मृतक खत्री आइतबार बिहान एक स्थानीय साथीलाई भेट्न गएका थिए। त्यसपछि उनी उरहरी चोकसम्म पुगेको देखिएको छ। खत्रीले बोक्दै आएको झोला भने सितलपुर मन्दिरका पूजारीमार्फत फेला परेको बताइएको छ। भेटेका साथी भारत गएको आफन्तको दाबी छ।
डिएसपी ठकुरीले प्रारम्भिक अनुसन्धानका क्रममा मृतक खत्री लागुऔषध सेवनकर्ता रहेको जानकारी प्राप्त भएको बताएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।