जुँगे महादेव मन्दिर पूजा–दर्शनका लागि खुला, बागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

नेपालगञ्ज, साउन ५- पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल बागेश्वरी मन्दिर परिसरमा रहेको जुँगे (खडेश्वर) महादेव मन्दिर आजबाट सर्वसाधारणका लागि पूजा–दर्शन खुला गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा नवनिर्मित अष्टधातुका जुंगे महादेवको मूर्ति स्थापना (प्राण–प्रतिष्ठा) सहित पुल, पुजाघर र घाटको समेत औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, धार्मिक अगुवा, समाजसेवी, तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको गुठी समितिका सदस्य सुनिलसिंह हमालले जानकारी दिनुभयो।

आज सोमबार समेत परेकाले मन्दिरमा दर्शन गर्न आउने भक्तजनको उल्लेख्य भीड रहेको छ। श्रद्धालुहरू बिहानैदेखि बागेश्वरी मन्दिर परिसरमा जुटेका छन्।

स्थानीय धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले पुनर्निर्माण गरिएको जुंगे महादेव मन्दिर अबदेखि नियमित पूजा–अर्चना र दर्शनका लागि खुला गरिने समितिले जनाएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर