एनआरएनए यूकेको उपाध्यक्षमा कंडेल उम्मेदवार

कोहलपुर साउन ४- बेलायतमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने अनेक अनुहार छन् । तर केही व्यक्ति त्यस्ता पनि हुन्छन्, जो सधैं आफु मात्र अगाडि देखिने होइन, अरूलाई अगाडि सारेर आफू पछि उभिने खालका हुन्छन् । रामप्रसाद कंडेल त्यस्तै व्यक्तित्व हुन् । झन्डै दुई दशकदेखि सामाजिक सेवामा लागेका उनी अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा उम्मेदवार छन् ।
तर यो उम्मेदवारी उनको व्यक्तिगत महत्वाकांक्षाको कारण मात्र होइन, उनको निरन्तर सेवा, त्याग र संस्थाप्रतिको समझदारीले बनाएको बाटो हो । उनले एनआरएनए स्कटल्यान्ड राज्य परिषदको सचिवको रूपमा काम गर्दा संस्थाभित्रको गति, चुनौती र सम्भावनालाई नजिकबाट बुझ्ने अवसर पाए । यसैले उनले नयाँ नेतृत्व दिन सकिन्छ भन्ने सोच बनाएर परिषदको अध्यक्ष पदमा दाबी गरे । तर जब स्थानीय अग्रज र सहकर्मीहरूले सबै मिलेर अघि बढ्न सुझाव दिए, उनले सहज रूपमा त्यो दाबी फिर्ता लिए र सर्वसम्मति निर्माणमा भूमिका खेल्न तयार भए ।
उनी भन्छन्, “नेतृत्व पदकै लागि होइन, संस्थाको एकता र सहकार्यका लागि हुनुपर्छ। जब सबैको भलो मिल्छ भने व्यक्तिगत आकांक्षा थाती राख्न सक्नुपर्छ।” उनको यही सोच र व्यवहारले गर्दा अहिले उनी अझ ठूलो जिम्मेवारीतर्फ अघि बढ्न खोज्दै छन्, एनआरएनए यूकेको उपाध्यक्ष पदमा ।
अब उनी केवल स्कटल्यान्डसम्म सीमित रहन चाहँदैनन् । बेलायतभरि फैलिएको नेपाली समुदायसँग जोडिएर काम गर्ने चाहना उनी राख्छन् । उनको नजरमा एनआरएनए एउटा यस्तो संस्था बन्नुपर्छ, जसले सबै सदस्यलाई अपनत्व दिन सकोस्, कामकाज पारदर्शी होस्, र निर्णयहरू सबैले बुझ्ने र साथ दिन सक्ने खालका होउन् ।
उनी चाहन्छन्, महिला अगाडि आऊन्, युवाहरूले सीप सिकून्, उद्यम गर्न खोज्नेहरूलाई अवसर दिइयोस्। उनले विशेषगरी बेलायतमा पढ्न आएका नेपाली विद्यार्थीहरूलाई पनि मार्गदर्शन र साथ दिने कामलाई प्राथमिकता दिएका छन्, किनकि उनले अनुभव गरेका छन् – विदेशमा जब कुनै समस्या पर्छ, तब साथ दिने अभिभावकीय भूमिका धेरै जरुरी हुन्छ ।
कंडेलको अर्को ध्यान आपतकालीन राहत कोषलाई बलियो बनाउने छ । कुनै पनि नेपाली आपतमा परेको खबर आएपछि सहयोग गर्न ढिलो नहोस् भन्ने उनी चाहन्छन् । साथै, नेपाल बाहिर रहे पनि नेपाली भाषा, संस्कृति र कलाको संरक्षण होस् भन्ने सोच उनको कार्ययोजनामा समान रूपमा महत्वपूर्ण छ ।
रामप्रसाद कंडेल केवल एनआरएनएमै होइन, स्कटल्यान्डको पशुपतिनाथ मन्दिरदेखि, नेपाली मेला, घुम्ती दूतावास सेवा जस्ता धेरै कार्यक्रमहरूमा संयोजक वा अगुवा भएर काम गरिसकेका व्यक्ति हुन्। धेरैपटक अगाडि नदेखिए पनि उनी भित्रभित्रै धेरै काम गर्ने र समन्वय मिलाउने व्यक्ति मानिन्छन् ।
उनको यात्रा कुनै पदको पछाडि हिँडेर सुरु भएको होइन। त्यो सेवा, अनुभव र संस्थाको भलोका लागि गरिएको यात्राको निरन्तरता हो। उनी स्पष्ट शब्दमा भन्छन्, “म पदको लागि होइन, कामको लागि उम्मेदवार भएको हुँ। आजसम्म साथ दिनु भयो, अब अझ ठूलो जिम्मेवारीमा पनि साथ दिनुहुन्छ भन्ने विश्वास लिएको उनले बताएका छन् ।