दाङमा साना उद्योगमा झन्डै दुई अर्ब रुपैयाँ लगानी

दाङ साउन ५ -दाङ जिल्लामा पछिल्लो एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग र व्यापार व्यवसायमा झन्डै दुई अर्ब रुपैयाँ लगानी भएको छ। घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल एक अर्ब ८६ करोड ३१ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
कार्यालयका सूचना अधिकारी गोपाल पौडेलका अनुसार, सो अवधिमा घरेलु तथा साना उद्योगतर्फ ८० करोड ४७ लाख रुपैयाँभन्दा बढी र वाणिज्य व्यवसायतर्फ एक अर्ब पाँच करोड रुपैयाँभन्दा बढी लगानी भएको छ। उनका अनुसार जिल्लामा एक वर्षको बीचमा ४४९ वटा घरेलु उद्योग र ५७९ वटा वाणिज्य फर्म दर्ता भएका छन्।
नयाँ उद्योग र फर्म खुले पनि ठूला संख्यामा बन्द समेत भएका छन्। पौडेलका अनुसार एउटै वर्षमा ४४४ वटा घरेलु उद्योग र ५५५ वटा वाणिज्य फर्म बन्द भएका छन्। कतिपय व्यवसायीले ऋणमा फसेको, विदेश जानु परेको वा व्यवसाय नचलेको कारण व्यवसाय बन्द गर्नुपरेको बताएका छन्। उनका अनुसार, दर्ता र बन्द हुने व्यवसायको संख्या प्रायः समान रहेकाले व्यवसाय क्षेत्रमा खासै उत्साह देखिएको छैन।
यद्यपि, सोही अवधिमा जिल्लामा एक हजारभन्दा बढीले रोजगारी पाएका छन्। घरेलु तथा साना उद्योग कार्यालय दाङका उद्यम विकास सहजकर्ता अनिल चौधरीका अनुसार, उद्योग तथा फर्महरू दर्ता हुँदा एक हजार चार सय १६ जनालाई रोजगारी सिर्जना भएको छ। तीमध्ये ९२२ जना पुरुष र ४९४ जना महिला रहेका छन्।
यसैबीच, सो आर्थिक वर्षमा ९६९ जना नयाँ उद्यमी व्यवसायमा लागेको कार्यालयले जनाएको छ। तीमध्ये ५५९ जना पुरुष र ४१० जना महिला छन्। त्यस्तै, सो वर्षमा कार्यालयले डेढ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। उद्योगतर्फ ६६ लाख रुपैयाँ र वाणिज्यतर्फ ९३ लाख रुपैयाँ राजस्व उठाइएको हो।
घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार, पछिल्लो समय जिल्लामा कृषि, जडिबुटी लगायतका क्षेत्रमा आधारित साना उद्योगहरू पनि थपिएका छन्।