राप्ती बबई क्याम्पसका शिक्षक महराले कोरोना राहत कोषलाइ एक लाख बढी सहयोग
दाङ, २० चैत ।
तुलसीपुरका एक समाजसेवी तथा प्राध्यापकले कोराना राहत विषेश कोषलाई एक लाख बढी रकम हस्तान्तरण गर्नुभएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत विषेश कोषमा प्राध्यापक तथा समाजसेवी बिरेन्द्र महराले एक लाख ५ हजार पाँच सय ५५ नगद सहयोग हस्तान्तरण गर्नुभएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तिखौवा निवासी समाजसेवी महराले विपद्को समयमा दुखमा परेका विपन्न तथा समस्यामा परेका नागरिकका लागि एकद्धार प्रणालीमार्फत सहयोग गर्न राहत कोषमा रकम जम्मा गरेको बताउनुभयो । उहाँले कोरोनाको महामारी फैलन नदिन पूर्व तयारी आवश्यक रहेको भन्दै राहतकोषले पनि विपद्को सहारा हुने विश्वास व्यक्त गर्नुभयो ।
राप्ती बबई क्याम्पसमा निशुल्क अध्यापन गराइरहनुभएका प्राध्यापक महराले समाजमा विभिन्न समस्यामा समस्या परेका नागरिकलाई सहयोग गर्दै आउनुभएको छ । मानव सेवा नै धर्म हो उद्देश्यका साथ विभिन्न समयमा उहाँले विपत्मा परेका नागरिकलाई सहयोग गर्दै आउनुभएको छ ।
महराले आज उद्योग वाणिज्य संघका अध्यक्ष बिरु रावत र निवर्तमान अध्यक्ष बिमल रिजाललाई रकम हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा अध्यक्ष रावतले कोरोना राहत विषेश कोषमा रकम जम्मा गर्ने महरालाई धन्यवाद दिदै सहयोग गर्न सबैमा अपिल गर्नुभयो ।
त्यस्तै निवर्तमान अध्यक्ष रिजालले बिगतदेखि उद्योग वाणिज्य संघ विभिन्न समयमा विपदमा जुट्ने गरेको बताउनुभयो । उहाँले राहतकोषमार्फत कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सहयोग गरिने बताउनुभयो