दाङमा सालको काठ नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि समेत हातपात !
तुलसीपर, ३२ जेठ ।
दाङमा सालको काठ बोकेको बस नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि समेत हातपात भएको छ । प्रदेश नंं ५ प्रहरी कार्यालय दाङका अनुसार शनिबार विहान ४ बजेतिर बबई गाउँपालिका वडा नं. ३ घट्टेखोला चेकप्वाईन्टमा सल्यान कालिमाटीदेखि दाङतर्फ आउँदै गरेको ना १ ख ७७०३ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बस भित्र र छतमा लुकाई राखेको सालको २७ वटा चिरान काठ (७० क्यूफिट) नियन्त्रणमा लिने क्रममा कुटपिट भएको हो ।
उक्त काठ नियन्त्रणमा लिई चौकीतर्फ लैजाने क्रममा बस धनी चुर्णबहादुर वोहरासहित ४ जनाले ईलाका प्रहरी कार्यालय पाछावाङ रोल्पा दरबन्दी भई ईलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान उत्तम वलीलाई कुटपिट गरि बस भगाउने क्रममा बस दुर्घटनामा परेको थियो ।
घाईते वलीको टाउको र अनुहारमा चोट लागेको छ, भने अबस्था सामान्य रहेको छ । उनीहरुलाई प्रहरीले भने अझै पनि पक्राउ गर्न सकेको छैन् । स्रोतका अनुसार उक्त काठ ओसारपसारका क्रममा बसमा चारजना रहेपछि ८ जनाको संलग्नता रहेको स्रोतले बताएको छ । विश्वनीय स्रोतका अनुसार बबई गाउँपालिका वडा नं. ४ का सन्तोष विक, नरेन्द्र वली, विक्की नेपाली, संकर सुवेदी, रुद्रमनी न्यौपाने, रमेश राणा, हेमन्त सार्की र चालक चूर्णबहादुर बोहराको संलग्नता रहेको छ । यस बिषयमा अनुसन्धानकालागि बस, बसामद गरेको काठ तथा आबश्यक प्रमाणहरु जिल्ला बन कार्यालय दाङलाई उपलब्ध गराईएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहनविक्रम केसीले जानकारी दिए । जिल्ला बन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले उक्त काठ कहाँबाट आयो, को–को संलग्न थिए, भन्ने विषयमा अनुसन्धान भईरहेको बताए ।