नेपालमा सलहको झुण्ड विखण्डन, थपिने सम्भावना कायम

दाङ, १७ असार ।

अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ । झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताए ।

उनले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत राससलाई बताए । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उनको भनाइ छ । ‘कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ’, जोशीले भने ।

कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पु¥याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु¥याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु¥याएको तर क्षतिको विवरण सङ्कलनको क्रममा रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने हो भने । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताए ।

कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सात देखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुण्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिए । पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ ।

केन्द्रका अनुसार आज सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण÷पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण÷पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ । यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गर े ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड सङ्ख्यामा) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।

सलह देखिएमा के गर्ने ?

सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।

कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँठा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ ।

नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्नसमेत विज्ञहरुले आग्रह गरेका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर