रुकुमपूर्वमा सलहले वर्षे बाली र वनजंगलमा क्षति
रुकुमपूर्व, ३ साउन ।
रुकुमपूर्वमा सलहले वालीमा क्षति पु¥याएको छ । सलहले मकै, आलु लगायतको वर्षे बाली र अरु वनजंगलमा समेत क्षति पुर्याएको छ । गत असार १६ गते भूमे गाउँपालिका–१,२, ७ लगायतका क्षेत्रमा पहिलो पटक आएको सलह जिल्लाभर फैलिएको छ ।
भूमे गाउँपालिकाका १, २, ३, ७ मा धेरै क्षति पुगेको छ भने अरु ६ वडामा पनि सलहले क्षति पुर्याएको छ । २ नम्बर वडा गावाङका जगतसिङ बुढामगरले सलहका कारण मकै, आलुमा ठूलो क्षति गरेको बताए । उनका अनुसार कतै कतै मकैको सबै पात र जंगलका रुखका पात समेत सकाइसकेका छन् ।
सिस्ने गाउँपालिका–२, का अध्यक्ष जीवन केसीले वडा र आसपासका क्षेत्रका बालीमा सलहले ठूलो क्षति गरेको बताए । उनका अनुसार हाल भूमेका साथै सिस्ने गाउँपालिका र पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न वडामा सलह घुमिरहेको छ ।
सलह पुर्याएको क्षतिको विवरण संकलन भइरहेको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।
यसैबीच भूमे गाउँपालिकाले प्रतिकिलो ४० का दरले किनेर सलह जलाउने गरेको छ । प्रदेश ५ सरकारले दिएको २० रुपैयाँमा गाउँपालिकाले २० रुपैयाँ थपेर प्रतिकिलो ४० का दरले सलह खरिद गरिरहेको छ । हालसम्म गाउँपालिकाले २ सय ७१ किलो सलह खरिद गरेर नष्ट गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए ।
लामो समयसम्म सलहले नछाडेपछि स्थानीय सरकार तथा वडा कार्यालयले सूचना जारी गरेका छन् । सलह आउन नदिन, धुँवा निकाल्ने, थाल तथा अरु बजाउने जस्ता काम गर्न स्थानीयलाई अनुरोध गरिएको हो ।