दाङमा दुईजना नक्कली प्रहरी पक्राउ

तुलसीपुर, १८ सउन ।

जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुईजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचय पत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० बर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० बर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

नेपालीले आफु जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी नायब निरीक्षक ‘योगेन्द्र हमाल हुँ’ भन्दै घोराही १५ ट्राफिक चोकमा रहेको लुम्बिनी होटल र मालिका भ्याली भ्यू होटलमा गई होटल संचालकहरूलाई अभद्र व्यबहार गरेको तथा मासिक रूपमा रकम दिनुपर्छ भनी धम्क्याएको भन्दै पक्राउ गरिएको हो ।

त्यस्तै मल्लले जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी सहायक निरीक्षक हुँ भनि ट्राफिक चोक स्थित पाहुना गेष्ट हाउसमा गई निःशुल्क खाने गरेको र होटल सञ्चालकलाई अभद्र व्यबहार गरेको भनि जहेरी परेकाले पक्राउ गरिएको हो ।

शनिबार पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परीच्छेद ५ दफा ११८ (अभद्र व्यवहार गर्न नहुने) कसुरमा मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई आईतबार जिल्ला प्रशासन कार्यालय दाङबाट १० दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

साथै प्रहरीले सार्वजनिक पद धारण गरेको व्यक्ति भनी नक्कली परिचय पत्र बनाएर समाजमा अपराधिक गतिबिधि गरिरहेको भन्दै सूचना दिन सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर