नेकपा पार्टीको आन्तरिक विवाद मिलाउनका लागि कार्ययोजना बन्दै

काठमाडौं, २४ भदौ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद समाधान कार्यदलले दिएको सुुझावका आधारमा कार्यान्वयनको कार्ययोजनासहितको प्रस्ताव तयार गरे ।

अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको छलफलमा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गरेको हो । छलफलमा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो । उक्त सहमतिको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई पठाउने प्रक्रिया पनि शुरु भएको छ ।

गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक अध्यक्षद्वयले २६ गते बिहान ११ बजेका लागि तोकेका थिए । पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो ।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन् । नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर