औषधी प्रयोग गर्न नजान्दा अबस्था चिन्ताजनक छ : अध्यक्ष अधिकारी

तुलसीपुर, १० असोज ।

दाङमा पनि विश्व फार्मेसी दिवस शुक्रबार मनाईएको छ । नेपाल फार्मेसी संघ दाङले शुक्रबार साँझ दिवसको अवसरमा तुलसीपुर, घोराहीलगायतका स्थानमा दिप प्रज्वलन गरेको हो ।

त्यस अवसरमा संघका अध्यक्ष सुलभ अधिकारीले विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदनशील क्षेत्र हो फार्मेसी भएको भन्दै औषधी बिनाको स्वास्थ्य क्षेत्र वा उपचार सम्भव नरहेको बताए ।

बच्चा गर्भमा रहदादेखि जन्मिएर जीवनभर र मृत्युवरण गर्दासम्म औषधीको सहयोग आबश्यक पर्ने भन्दै उनले औषधीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् फर्मासिष्ट नै रहेको बताए ।

औषधि सम्बन्धी अनुसन्धान र विकासदेखि त्यसको उत्पादन, गुणस्तर परीक्षण, सञ्चय, बिक्री वितरण, परामर्श एवं फर्माकोभिजिलेन्स र एडभर्स ड्रग रियाक्सन रिपोर्टिङ गर्ने ज्ञान भएको दक्ष जनशक्ति फर्मासिष्ट भएको समेत उनले बताए ।

अध्यक्ष अधिकारीका अनुसार अहिले औषधी नपाएर भन्दा औषधी खाएर मर्ने तथा शरीरमा नकारात्मक असर गर्र्नेहरुको सङ्ख्या बढी रहेको भन्दै ऐन्टिबायोटिक्स जस्तो जीवन रक्षक औषधीले विस्तारै काम गर्न छाडेको उनले बताए । औषधीको प्रयोगमा ध्यान नदिदा जुन विश्वको प्रमुख समस्याको रूपमा देखिएको छ ।

आफू खुशी औषधिको प्रयोग गर्नु, चिकित्सक र फर्मासिष्टले दिएको सल्लाह नमान्नु, औषधी प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी नअपनाउनु र औषधिको बिक्री वितरण गैर फर्मासिष्टले गर्नु, जस्ता समस्या रहेको भन्दै उनले औषधीको विवेक पूर्ण प्रयोगलाई ख्याल नगरी अन्धाधुन्ध प्रयोग गर्दै जाने हो भने औषधिले विस्तारै काम गर्न छाड्दै जाने तथा नयाँ प्रभाकारी औषधि बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय संङ्कटकाल आउन सक्ने भन्दै यसमा सचेत रहन समेत आबश्यक रहेको उनको भनाई छ ।

नेपालमा औषधि सम्बन्धी ऐन, कानुन , नीति, नियमहरु बने पनि लागु नभएको समेत उनले बताए । औषधि ऐन २०३५ ले औषधि बिक्री वितरणमा फर्मासिष्ट र सहायक फर्मासिष्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको भएपनि यो सम्भव नभएको उनको भनाई छ ।

‘राज्यले फार्मेसी पेशाको महत्व नबुझ्दा र दक्ष फार्मेसी जनशक्तिलाई उनीहरूको कामबाट वञ्चित गराउँदा मानव स्वास्थ्य लाई त असर पुराएकै छ, राज्यको नि औषधीमा गर्यको लगानी बालुवामा पानी मिसाएको जस्तै भएको छ’, उनले भने‘ विश्वव्यापी नारा ‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ ‘राइट म्यान राइट प्लेस’ लाई कार्यावन्यन गराउनु जरुरी देखिन्छ ।’ यसको लागि सबै फार्मासिष्टहरु एक हुनुपर्ने समेत उनले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर