कपिलवस्तुमा ट्राफिक नियम उल्लङ्घन गर्ने अब भिडियो प्रमाणकै आधारमा कारबाही

कपिलवस्तु, जेठ ९ — कपिलवस्तुमा ट्राफिक नियमको पालना प्रभावकारी बनाउने उद्देश्यले प्रहरी र सर्वसाधारणको सहकार्यमा भिडियो प्रमाणका आधारमा कारबाहीको नयाँ अभियान सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा नागरिकहरूलाई नियम उल्लङ्घन गर्ने सवारीसाधनको फोटो वा भिडियो खिची प्रहरीलाई पठाउन आग्रह गरिएको छ।
ट्राफिक प्रहरी प्रमुख पङ्कज चुँदालीका अनुसार, नागरिकबाट प्राप्त प्रमाणको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिनेछ। नियम उल्लङ्घन गर्ने सवारीको नम्बर प्लेट स्पष्ट देखिने तस्बिर वा भिडियो ९८५७०५१०३८ नम्बरमा ह्वाट्सएप मार्फत पठाउन सकिनेछ ।
जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जन दत्त भट्टले भन्नुभयो: “नागरिकहरूले पनि बिना बर्दीका प्रहरीको भूमिका निर्वाह गर्न सक्छन्। तपाईँहरूको मोबाइलले खिचेको भिडियो नै अब कारबाहीको आधार बन्नेछ” l
यो अभियान विशेष गरी भित्री सडक तथा गाउँ क्षेत्रका सवारीसाधनमा निगरानी गर्ने लक्ष्यसहित सुरु गरिएको हो, जहाँ प्रहरीको उपस्थिति कम हुने गर्छ।
मुख्य उद्देश्यहरू:
- सडक दुर्घटनामा कमी ल्याउने
- ट्राफिक नियमको पालना सुनिश्चित गर्ने
- नागरिक सहभागितामार्फत साझा जिम्मेवारीको भावना विकास गर्ने
प्रहरी प्रशासनको यो नवीनतम प्रयासले सुरक्षित, सचेत र जिम्मेवार सडक संस्कृति निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, ट्राफिक सुरक्षामा आम नागरिकको सक्रिय सहभागिता स्थापित गर्ने दिशामा एक सकारात्मक कदमको रूपमा हेरिएको छ।