अपाङ्गता भएका व्यक्तिलाई भारत लगेर कृत्रिम अङ्ग जडान: कोहलपुर नगरपालिकाको पहल

कोहलपुर जेठ ९ — शारीरिक अपाङ्गता भएका नागरिकलाई पुनःसक्रिय जीवनमा फर्काउन कोहलपुर नगरपालिकाले उनीहरूलाई भारत लगेर कृत्रिम अङ्ग जडान गराउने अभियान यो वर्ष पनि जारी राखेको छ।
नगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण उपशाखाद्वारा सञ्चालित कार्यक्रममा यसपालि नगरका सबै वडाबाट छनोट गरिएका १९ जना अपाङ्गता भएका नागरिकलाई भारतको जयपुर लगिएको छ।
कार्यक्रम संयोजक तारा भण्डारीका अनुसार, ती व्यक्तिहरूलाई कृत्रिम हात, खुट्टा, क्यालिफर, ह्विलचेयर र एएओ (पैतालाको सट्टा प्रयोग हुने अङ्ग) जडान गरिनेछ। “यस पटक ५ जनालाई कृत्रिम खुट्टा, ४ जनालाई कृत्रिम हात, ७ जनालाई क्यालिफर, १ जनालाई ह्विलचेयर र २ जनालाई एएओ उपलब्ध गराइनेछ,” भण्डारीले जानकारी दिनुभयो।
तीन वर्षदेखि निरन्तर कार्यक्रम
कोहलपुर नगरपालिकाले विगत तीन वर्षदेखि अपाङ्गता भएका नागरिकको पहिचान, छनोट र उपचारका लागि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नगर उपप्रमुख सङ्गीता सुवेदीका अनुसार, हरेक वर्ष नगरका सबै वडामा शिविर सञ्चालन गरेर शारीरिक अपाङ्गता भएका व्यक्तिहरू छनोट गरिन्छन्। “पहिलो वर्ष १९–२० जना, दोस्रो वर्ष १८ जना र यस वर्ष पनि १९ जना भारत पठाएका छौँ,” उपप्रमुख सुवेदीले बताउनुभयो। “यो कार्यक्रम नगरपालिकाकै खर्चमा सञ्चालित हो। बसोबास, खाना र अन्य आवश्यक सामग्रीहरू पनि नगरपालिकाले नै व्यवस्था गर्छ ।
‘ग’ र ‘घ’ वर्गका नागरिकलाई विशेष प्राथमिकता
उपप्रमुख सुवेदीका अनुसार, राज्यबाट सामाजिक सुरक्षा भत्ता नपाउने ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका नागरिकलाई प्राथमिकता दिइन्छ। यस वर्गका नागरिकहरूलाई केवल सहायक सामग्री प्रदान गरेर मात्र नभई, आत्मनिर्भर बनाउने विभिन्न सिपमूलक तालिमहरू पनि प्रदान गरिन्छ। “बेकरी तालिमदेखि अन्य आयमूलक तालिमहरू प्रदान गरेर उनीहरूलाई स्वरोजगार बनाउने प्रयास भइरहेको छ,” उहाँले बताउनुभयो ।
कोहलपुर नगरपालिकाको यो प्रयासलाई अहिले बाँके जिल्लाका अन्य स्थानीय तहहरूले पनि अनुकरण गर्न थालेका छन्। यसले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा नयाँ आशा र आत्मविश्वास थप्ने अपेक्षा गरिएको छ।