दर्पण कृषि सहकारीको साधारणसभा
मन वली
तुलसीपुर २५ माघ ।
दर्पण कृषि सहकारी संस्था लिमिटेडको ८ औँ साधारणसभा तुलसीपुर २ बालापुरमा भएको छ । संस्थाका अध्यक्ष भिम बहादुर वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष राजु आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा आचार्यले सहकारीले सम्भावना र क्षमतालाई ध्यानमा राखी कृषि गतिविधिमा सक्रिय भएर लाग्नुपर्ने बताए । यस्तै विशिष्ट अतिथि तोरी जोन क्षेत्रका पूर्व अधिकृत तिलक केसीले कृषि जन्य गतिविधिमा सक्रिय भएर लाग्न र सहकारी तर्फ कृषकहरूलाई आकर्षित गर्न जोड दिए । संस्था अध्यक्ष वलीले सबैको साथ र सहयोगले सफलता प्राप्त गर्न सकिने बताए ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाले ४५ लाख ३९ हजार २ सय ६६ रूपैयाँ आम्दानी गरेको थियो भने १ लाख ६९ हजार १ सय २६ रूपैयाँ खर्च भएको थियो । हाल सहकारीको पुँजी ४३ लाख ७० हजार १ सय ४० रूपैयाँ रहेको छ। ३१ जना सदस्यबाट सुरू भएको सहकारीमा हाल ११५ जना सेयर सदस्य रहेका छन् ।
संस्थाको सांगठनिक प्रतिवेदन सचिव मोहन डाँगी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पूर्ण केसीले प्रस्तुत गरेका थिए । उपाध्यक्ष सालिकराम सुनारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव मोहन डाँगीले गरेका थिए ।